काठमाडौं । संवेदनशील सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बित भएका छन्। गृह मन्त्रालयका अनुसार दाहालले पदीय आचरणविपरीत काम गर्नुका साथै संवेदनशील सूचना चुहाएको आरोप छ।
अनुसन्धानका क्रममा दाहालको पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र झापाका इनम सापकोटासँगको ‘कनेक्सन’ खुलेको स्रोतको दाबी छ। असोज ११ गते राति जबरालाई नियन्त्रणमा लिएपछि दाहाल चेन अफ कमाण्डलाई समेत बेवास्ता गर्दै टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए।
प्रहरी विशेष ब्युरोको अनुसन्धानमा दाहाल र झापाका सापकोटाबीच सम्पर्क रहेको देखिएको बताइएको छ। सापकोटाको मोबाइलबाट दाहालले संवेदनशील सूचना आदान–प्रदान गरेको अनुसन्धान स्रोतको दाबी छ। अनुसन्धानपछि सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएर एक दिनमै छाडेको थियो।
यस प्रकरणमा गृह मन्त्रालयले जाँचबुझ अधिकृत तोकेर छानबिन अघि बढाएको छ। तीन दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ भने प्रतिवेदनमा चोलेन्द्रशमशेर जबरा, एआईजी दाहाल र इनम सापकोटाबीचको सम्बन्धबारे समेत तथ्य समेटिने तयारी गरिएको छ।