काठमाडौं उपत्यकाको ट्राफिक जाम, वायु प्रदूषण र अव्यवस्थित सार्वजनिक यातायातको दीर्घकालीन समाधानका लागि सरकारले रत्नपार्क–भक्तपुर मेट्रो रेल परियोजना अघि बढाउने तयारी गरेको छ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग अर्थात् जाइकाको सहयोगमा तयार गरिएको काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजनाले करिब १६ दशमलव ५ किलोमिटर लामो मेट्रो रेल सन् २०४० सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।
प्रस्तावित रेलमार्गमा रत्नपार्क र कोटेश्वर क्षेत्रमा भूमिगत तथा अरनिको राजमार्गको अधिकांश खण्डमा पिलरमाथि एलिभेटेड संरचना निर्माण गर्ने योजना छ। यसबाट जग्गा अधिग्रहणको लागत घटाउने र व्यस्त सडकमा थप असर नपार्ने लक्ष्य राखिएको छ।
गुरुयोजनाअनुसार सन् २०३२ सम्म विस्तृत सम्भाव्यता अध्ययन, डीपीआर, वातावरणीय तथा सम्पदा प्रभाव मूल्याङ्कन र लगानी सुनिश्चित गर्ने काम सम्पन्न गर्ने लक्ष्य छ। त्यसपछि निर्माण अघि बढाएर सन् २०४० सम्म मेट्रो सञ्चालन गर्ने योजना बनाइएको छ।
मेट्रोका प्रमुख स्टेसन आसपास व्यापारिक केन्द्र, पार्किङ तथा अन्य सुविधा सहितका ट्रान्जिट हब विकास गर्ने प्रस्तावसमेत गरिएको छ। साथै, मेट्रोसँग जोडिने ठूला विद्युतीय फिडर बस सञ्चालन गर्ने र एउटै स्मार्ट कार्ड वा मोबाइल एपबाट बस तथा मेट्रोको भाडा तिर्न सकिने एकीकृत यातायात प्रणाली विकास गर्ने योजना छ।
तर, काठमाडौंको कमजोर माटो, पुरातात्त्विक सम्पदा संरक्षण, जग्गा अधिग्रहण तथा ठूलो लगानी जुटाउने विषयलाई परियोजनाका प्रमुख चुनौतीका रूपमा हेरिएको छ।
सरकारले गुरुयोजनाको मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला तथा आम नागरिकबाट ३० दिनभित्र राय–सुझाव मागेको छ।