काठमाडौं । विवादमा आएका तथा कारागारभित्रै चलखेल गरेको सूचना पाएपछि डिल्लीबजार कारागारमा रहेका केही ‘भीआईपी’ कैदीलाई अन्य कारागारमा सरुवा गर्न थालिएको छ।
सम्पत्ति शुद्धीकरणलगायतका मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका व्यवसायी दीपक भट्टलाई सुरुमा डिल्लीबजार पठाइएको थियो। तर करिब १५ दिनमै उनलाई नख्खु कारागार सरुवा गरिएको थियो। त्यसपछि उनी अहिले सिन्धुपाल्चोक कारागार पठाइएका छन्।
डिल्लीबजार कारागारमा खुला ठाउँ, भेटघाटमा सहजता र काठमाडौंको मुख्य क्षेत्रमा रहेको कारण उच्च पदस्थ तथा चर्चित कैदीहरूको रोजाइमा पर्ने गरेको बताइन्छ। तर विवाद वा चलखेलको सूचना आएपछि त्यहाँबाट अन्यत्र सरुवा गर्ने गरिएको कारागार स्रोतको भनाइ छ।
यसअघि पूर्वडीआईजी रञ्जन कोइराला, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलगायतलाई पनि डिल्लीबजारबाट अन्य कारागारमा सरुवा गरिएको थियो।
अहिले पनि डिल्लीबजार कारागारमा केही चर्चित तथा उच्च प्रोफाइलका कैदीहरू रहेको जनाइएको छ।