काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा पूर्वसभापति शेरबहादुर देउवा अनुपस्थित भएका छन्। खुलामञ्चमा आयोजित उद्घाटन समारोहमा कांग्रेसका नेता–कार्यकर्ता तथा विभिन्न राजनीतिक दलका नेताहरूको बाक्लो उपस्थिति रहे पनि देउवा भने सहभागी भएनन्।
कांग्रेसले देउवालाई महाधिवेशनको प्रमुख अतिथिका रूपमा निम्तो पठाएको थियो। सभापति गगन थापाका अनुसार उनको सम्मानका लागि मञ्चमा कुर्सीसमेत छुट्याइएको थियो। महाधिवेशनको लोगोमा समेत देउवाको तस्बिर राखिएको थियो। तर, देउवाले महाधिवेशनमा सहभागिता जनाएनन्।
विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई देउवाले स्वीकार नगरेपछि उनी पार्टीको मूलधारबाट क्रमशः टाढिँदै गएको देखिएको छ। उनलाई लामो समय साथ दिएका कतिपय नेताहरू पनि अहिले नयाँ नेतृत्वको पक्षमा देखिएका छन्।
सभापति गगन थापाले देउवाको राजनीतिक इतिहासको सम्मान गर्ने बताए पनि कांग्रेसलाई अब नयाँ पुस्ता र नयाँ सोचसहित अघि बढाउनुपर्ने संकेत गरेका छन्। उनले नेतृत्वको मूल्यांकन विगतको पदभन्दा पार्टीलाई कति फराकिलो र बलियो बनायो भन्ने आधारमा हुनुपर्ने धारणा राखेका छन्।
देउवा नेपाली कांग्रेसका प्रभावशाली नेतामध्ये एक हुन्। उनी पाँचपटक प्रधानमन्त्री र दुईपटक कांग्रेस सभापति भइसकेका छन्। लामो राजनीतिक संघर्ष र सत्ताको अनुभव बोकेका देउवाका लागि १५औँ महाधिवेशनमा अनुपस्थित हुनु राजनीतिक जीवनको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
यता, देउवाको वैधानिकता र पार्टी नेतृत्वसँग सम्बन्धित विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आगामी राजनीतिक अवस्था कस्तो हुन्छ भन्ने विषय पनि चासोको केन्द्रमा छ।