झापा, असोज १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा झापाबाट करिब दुई दर्जन नेताले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
विभिन्न क्लस्टरबाट झापाका नेताहरूले केन्द्रीय सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका हुन्। महिला क्लस्टरबाट उमा शिवाकोटी र सीतादेवी पौडेलले उम्मेदवारी घोषणा गरेका छन्।
त्यस्तै, ३५ वर्षमुनिको क्लस्टरबाट रुवि सिटौला, सरिता पौडेल र निरज दुलालले उम्मेदवारी दिने बताएका छन्। पेशागत तथा विज्ञ क्लस्टरबाट विज्ञान प्रसाई, भूगोलतर्फ रेगिना भट्टराई र अपांगता क्लस्टरबाट उत्सव ढकालले उम्मेदवारी घोषणा गरेका छन्।
यसैगरी वीरमणि ढकाल, छत्रबहादुर गिरी, हुकुमसिंह राई, मेदनी सिटौला, रामकुमारी पौडेल, जगदीश काफ्ले, अनिलकृष्ण प्रसाईलगायतका नेताहरू पनि केन्द्रीय सदस्यका आकांक्षी रहेको बताइएको छ।
जिल्ला सभापति देउमान थेबेका अनुसार हालसम्म झापाबाट २२ जनाले केन्द्रीय सदस्यका लागि आकांक्षा व्यक्त गरेका छन्। उनले उम्मेदवारहरूको अन्तिम टुंगो भने सोमबार लाग्ने जानकारी दिएका छन्।
यसपटक झापाबाट केन्द्रीय सदस्यका आकांक्षीमा पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको बताइएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा झापाबाट महाधिवेशन प्रतिनिधि, गाउँ तथा नगर सभापति, क्षेत्रीय सभापति र प्रदेशसभा क्षेत्रीय सभापतिसहित १९५ जना सहभागी हुँदैछन्।