काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था गम्भीर रहेको बताएका छन्।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनले संरचनागत र व्यवस्थापकीय सुधार नगरी जहाज थपेर मात्रै निगमको अवस्था सुधार्न नसकिने बताए।
मन्त्री पौडेलले निगमलाई राष्ट्रिय ध्वजावाहकका रूपमा जोगाउन ऋणको भार घटाउने, इक्विटी बढाउने र उच्च ब्याजदर पुनरावलोकन गर्नुपर्ने बताएका छन्।
उनले वाइडबडी जहाजको ओभरहलका लागि आवश्यक वित्तीय योजना तत्काल बनाउनुपर्ने र जहाज थप्ने तथा फ्लीट आधुनिकीकरणमा पनि ध्यान दिनुपर्ने बताए।
निगमको सुधारका लागि सार्वजनिक–निजी साझेदारीको मोडलमा जान सरकारको नीति रहेको जानकारी दिँदै उनले अब निगममा ठूला सुधार र पुनर्संरचना आवश्यक रहेको बताएका छन्।