नयाँदिल्ली । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै नयाँदिल्लीस्थित जन्तर–मन्तरमा आज पनि विरोध प्रदर्शन गर्ने आह्वान गरिएको छ।
अल इन्डिया स्टुडेन्ट्स एशोसिएसनकी राष्ट्रिय अध्यक्ष नेहा बोराले शनिबार दिउँसो १ बजे जन्तर–मन्तरमा भेला हुन आह्वान गरेकी छन्। यस्तै, ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले पनि यही विषयलाई लिएर आगामी १० अक्टोबरमा दिल्लीमा प्रदर्शन गर्ने घोषणा गरेका छन्।
यसअघि शुक्रबार विपक्षी दल तथा वामपन्थी विद्यार्थी संगठनसँग आबद्ध व्यक्तिहरू जन्तर–मन्तरमा भेला भएका थिए। तर, दिल्ली प्रहरीले मुख्य जन्तर–मन्तरमा प्रदर्शनका लागि अनुमति नदिएको जनाइएको छ।
प्रदर्शनलाई ध्यानमा राख्दै नयाँदिल्लीका विभिन्न क्षेत्रमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ अन्तर्गत निषेधाज्ञासमेत जारी गरिएको थियो। बीबीसीका अनुसार शुक्रबार जन्तर–मन्तर पुग्नुअघि नै प्रहरीले सयौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो।
यही विषयलाई लिएर ककरोच जनता पार्टीले मुम्बईको शिवाजी पार्कमा समेत प्रदर्शन गरेको जनाइएको छ।