झापा । हुलाकी राजमार्गअन्तर्गत लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको कन्काई नदीको पुल एक–दुई वर्षभित्र सम्पन्न गर्ने गरी पहल अघि बढाउने सांसद डा. अमरेशकुमार सिंहले बताएका छन्।
मेची–महाकाली हुलाकी सडक यात्राका क्रममा झापा आइपुगेका सांसद सिंहले कन्काईसहित कमला र बागमती नदीमा निर्माणाधीन पुललाई प्राथमिकताका साथ अघि बढाएर निर्माण सम्पन्न गर्नुपर्ने बताएका हुन्।
हुलाकी राजमार्गअन्तर्गत महत्वपूर्ण पुल तथा सडक पूर्वाधार निर्माणमा लामो समयदेखि ढिलाइ भइरहेको भन्दै सिंहले सम्बन्धित निकायसँग समन्वय गरी निर्माण कार्यलाई गति दिनुपर्नेमा जोड दिए।
मेचीदेखि महाकालीसम्मको यात्राका क्रममा सडक तथा पुलको अवस्था, किसान, युवा, शिक्षा, स्वास्थ्य र स्थानीय विकास निर्माणसँग सम्बन्धित समस्या प्रत्यक्ष रूपमा बुझिरहेको उनले बताए।
नेताहरूले भाषणमा मात्र सीमित नभई गाउँ–बस्तीमै पुगेर जनताका समस्या प्रत्यक्ष रूपमा सुन्नुपर्ने धारणा राख्दै आफू मेची–महाकाली यात्रामा निस्किएको सिंहको भनाइ छ।
झापामा हुलाकी सडकअन्तर्गत कन्काई नदीको पुल लामो समयदेखि निर्माण सम्पन्न हुन नसक्दा यात्रु तथा स्थानीयवासीले समस्या भोग्दै आएका छन्। पुल निर्माण सम्पन्न भए झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका जिल्लाबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ।
यात्राका क्रममा उठेका समस्या सम्बन्धित निकायसम्म पुर्याउने र आवश्यक पहल गर्ने प्रतिबद्धता पनि सांसद सिंहले व्यक्त गरेका छन्।