नवलपरासी पूर्व । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गबाट नालामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएको र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ।
मृतकमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य पाँच जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा गोरखाका हरिशरण थापा, अछामका तेजेन्द्र प्रसाद भण्डारी, बर्दियाकी आकृती, बाजुराका पवन बुढा, बर्दियाका सञ्जय थारु, बाजुराका प्रेम बम, ललितपुरका अनोज खत्री, बर्दियाका लालबहादुर कार्की, बाँकेका अस्लाम भगवान र सल्यानका अनिल बुढाथोकी रहेका छन्।
दुर्घटनाको खबर पाएलगत्तै प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा पुर्याएको जनाएको छ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।