काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुईदिने भ्रमणका लागि अमेरिका प्रस्थान गरेका छन्।
विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा अर्थमन्त्री वाग्ले शुक्रबार राति अमेरिकाको वाशिङ्टन डीसीतर्फ प्रस्थान गरेका हुन्।
असोज १९ र २० गते हुने भ्रमणका क्रममा उनले नेपाल–अमेरिका द्विपक्षीय सहयोग विस्तार, नेपाललाई एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रयास तथा बृहत् आर्थिक सुधारका विषयमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थमन्त्री वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय तथा इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनका उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन्। साथै, अमेरिकी निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा हालै रसुवामा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालन गर्ने विषयमा पनि विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल हुने मन्त्रालयले जनाएको छ।
यस्तै, सडक तथा विद्युत् प्रसारण लाइनजस्ता महत्वपूर्ण पूर्वाधारमा लगानी बढाउने, रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्ने र विकास साझेदार तथा निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि पहल गर्ने विषयमा पनि अर्थमन्त्री वाग्लेको भ्रमण केन्द्रित रहने बताइएको छ।