दमक । हंसे दुम्से सामुदायिक वन उपभोक्ता समितिले आयोजना गरेको बृहत् वन सरसफाइ अभियान उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ। साबिक कोभिड अस्पताल, बेलडाँगी क्षेत्रमा आयोजित अभियानमा सामुदायिक वनका पदाधिकारी तथा सदस्य, परिषद् सदस्य, वन उपभोक्ता, स्थानीय टोलवासी, सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतको उल्लेख्य सहभागिता रहेको थियो।
नयाँ समिति निर्वाचित भएसँगै हंसे दुम्से सामुदायिक वनको संरक्षण, सरसफाइ र व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न गतिविधिलाई निरन्तरता दिइँदै आएको छ। वन क्षेत्रमा नियमित गस्ती गर्ने, सरसफाइ गर्ने तथा वन संरक्षणसम्बन्धी गतिविधि सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइएको समितिले जनाएको छ।
सरसफाइ अभियानका क्रममा वन क्षेत्र तथा आसपासमा रहेका फोहोरमैला तथा अव्यवस्थित सामग्री हटाउँदै वातावरणलाई स्वच्छ र सफा बनाइएको थियो। अभियानमा सहभागीहरूले वन संरक्षणसँगै वातावरणीय स्वच्छता कायम गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए।
हंसे दुम्से सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष योगराज दंगालले नयाँ समिति निर्वाचित भएसँगै वन संरक्षणलाई प्राथमिकतामा राखेर नियमित गस्ती र सरसफाइका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। वनको संरक्षण र विकासमा उपभोक्ता तथा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै उहाँले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने बताउनुभयो।
अध्यक्ष दंगालले वनलाई केवल काठ तथा दाउराको स्रोतका रूपमा मात्र नभई वातावरण, जैविक विविधता र समुदायको साझा सम्पत्तिका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो। वन क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा वन संरक्षणका लागि सबै उपभोक्ता र स्थानीयवासी जिम्मेवार भएर लाग्नुपर्ने उहाँको भनाइ थियो।
नयाँ समिति गठन भएपछि नियमित गस्ती तथा सरसफाइका गतिविधि सञ्चालन हुन थालेसँगै वन संरक्षणप्रति स्थानीयवासीमा समेत सकारात्मक आशा जागेको सरोकारवालाहरूले बताएका छन्। वन क्षेत्र सफा, सुरक्षित र व्यवस्थित बन्दै जानुका साथै वातावरण संरक्षणमा समेत सकारात्मक प्रभाव पर्ने उनीहरूको भनाइ छ।
वन संरक्षण र वातावरणीय स्वच्छताको अभियानलाई निरन्तरता दिँदै हंसे दुम्से सामुदायिक वनलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने लक्ष्यसहित आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरिने समितिले जनाएको छ।