दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप नेपालले पहिलोपटक गुमाउने पक्का भएको छ।
अखिल नेपाल फुटबल संघ एन्फामाथि फिफाले लगाएको निलम्बन तोकिएको समयभित्र फुकुवा हुन नसकेपछि आगामी नोभेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिपमा नेपालले खेल्न नपाउने भएको हो।
साफले निलम्बन फुकुवाका लागि नेपाललाई सेप्टेम्बर ३० सम्मको समय दिएको थियो। यसअघि भएको ड्रमा समेत नेपाललाई समावेश गरिएको थिएन।
फिफाले एन्फालाई निलम्बन गर्दा तेस्रो पक्षको हस्तक्षेपलाई मुख्य कारण बताउँदै राष्ट्रिय खेलकुद परिषद्को निर्णय फिर्ता लिनुपर्ने, तत्कालीन एन्फा कार्यसमितिलाई काम गर्न दिनुपर्ने र निर्वाचन प्रक्रिया विधानअनुसार अघि बढाउनुपर्ने सर्त राखेको थियो।
तर सरकार र एन्फाबीचको विवाद समाधान हुनुको सट्टा झन् जटिल बन्दै गएको छ। यसैबीच एन्फाका आर्थिक तथा प्रशासनिक गतिविधिमाथि अनुसन्धानसमेत भइरहेको छ।
निलम्बनकै कारण खेलाडी, प्रशिक्षक र कर्मचारीको व्यवस्थापनदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीसम्म असर परेको एन्फाले बताउँदै आएको छ।
सन् १९९७ देखि निरन्तर साफ च्याम्पियनसिपमा सहभागी हुँदै आएको नेपाल यसपटक भने फिफाको निलम्बनका कारण प्रतियोगिताबाट बाहिरिने भएको हो।
साफ गुमाउनु तत्कालको परिणाम भए पनि विवाद समाधान हुन नसके यसको असर आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता, खेलाडीको विकास र नेपाली फुटबलको संरचनामा समेत पर्न सक्ने जोखिम देखिएको छ।