काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाईले संयुक्त अरब इमिरेट्स (यूएई) लाई कडा चेतावनी दिएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आतिथ्यता दिएको भन्दै रेजाईले यूएईको आलोचना गरेका हुन्। उनले सामाजिक सञ्जाल ‘एक्स’मा अरबी भाषामा पोस्ट गर्दै यूएईको नाम नलिइकन पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका छन्।
रेजाईले अमेरिकी सैन्य अखडाहरूलाई आफ्नो भूमिमा स्थान दिँदैमा सुरक्षा सुनिश्चित नभएको भन्दै त्यस्तैगरी ‘गाजाका कसाई’लाई आतिथ्यता दिँदा पनि कुनै राम्रो परिणाम ननिस्कने टिप्पणी गरेका छन्।
उनले पछिल्लो युद्धबाट पाठ सिक्नुपर्नेमा जोड दिँदै युद्धलाई थप विस्तार गर्ने गतिविधि रोक्न पनि आग्रह गरेका छन्। साथै, इरानी टापुहरूका विषयमा आधारहीन दाबी गर्न छाड्न यूएईलाई चेतावनी दिएका छन्।
यूएईले हालै संयुक्त राष्ट्रसङ्घमा इरानसँग लामो समयदेखि विवादमा रहेका तीनवटा टापुको मुद्दा पुनः उठाउँदै इरानको आलोचना गरेको थियो। अबु मुसा, ग्रेटर टुनब र लेसर टुनब नामका ती टापुलाई लिएर इरान र यूएईबीच लामो समयदेखि विवाद रहँदै आएको छ।
पछिल्ला महिनाहरूमा इरान र यूएईबीचको सम्बन्धमा तनावसमेत बढ्दै गएको बताइएको छ। विशेषगरी इरानमाथि इजरायल र अमेरिकाबाट भएका पछिल्ला आक्रमणपछि क्षेत्रीय तनाव थप चुलिएको छ।
यसैबीच, इजरायल र इरानबीचको तनाव तथा खाडी क्षेत्रमा बढिरहेको भूराजनीतिक प्रतिस्पर्धाले यूएईसहितका खाडी मुलुकको सुरक्षा र कूटनीतिक सम्बन्धमा समेत दबाब बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बिश्लेशकहरुका अनुसार, रेजाईको पछिल्लो अभिव्यक्तिले इरान र यूएईबीच टापु विवादसँगै क्षेत्रीय सुरक्षा र इजरायलसँगको सम्बन्धलाई लिएर दुई देशबीचको मतभेद थप सार्वजनिक भएको देखिएको छ।