अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धन सेना इराकबाट औपचारिक रूपमा फिर्ता भएको छ। सन् २००३ मा इराकमा प्रवेश गरेको अमेरिकी सेना दुई दशकभन्दा लामो समयपछि इराकबाट बाहिरिएको हो।
अमेरिकी सेनाको यो फिर्तीलाई इरान र उसका सहयोगी समूहहरूले आफ्नो रणनीतिक सफलताका रूपमा प्रस्तुत गरेका छन्। इरान समर्थित सशस्त्र समूहहरूले अमेरिकी सेना हट्नुले इराकमा आफ्नो प्रभाव अझ बढ्ने दाबी गरेका छन्।
सन् २००३ मा अमेरिकाले तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताबाट हटाउँदै इराकमा सैन्य हस्तक्षेप गरेको थियो। सन् २०११ को अन्त्यमा अमेरिकी सेना फर्किए पनि सन् २०१४ मा इस्लामिक स्टेटविरुद्धको अभियानका क्रममा पुनः इराक पुगेको थियो।
फिर्तीपछि इराकको सुरक्षा व्यवस्थापनलाई लिएर भने चिन्ता व्यक्त गरिएको छ। केही सुरक्षा अधिकारी तथा विज्ञहरूले अमेरिकी गुप्तचर, ड्रोन र सैन्य सहयोग नहुँदा इस्लामिक स्टेटका लडाकुहरू पुनः सक्रिय हुन सक्ने चेतावनी दिएका छन्।
इराकमा इरान समर्थित सशस्त्र समूहहरूको प्रभाव बढ्न सक्ने विषय पनि चर्चामा छ। इराकी सुरक्षा विज्ञहरूका अनुसार अमेरिकी सैन्य उपस्थिति हटेपछि इरानको प्रभावलाई सन्तुलनमा राख्ने बाह्य शक्ति कमजोर भएको छ।
अमेरिका र इरानबीचको लामो समयदेखिको तनावका कारण इराक पछिल्ला वर्षहरूमा दुवै पक्षबीचको द्वन्द्वको केन्द्रसमेत बन्दै आएको थियो। सन् २०२० मा बगदाद विमानस्थलमा अमेरिकी हवाई आक्रमणमा इरानी कमाण्डर कासिम सुलेमानी मारिएपछि पनि इराकमा तनाव बढेको थियो।
अब अमेरिकी सेना पूर्ण रूपमा बाहिरिएपछि इराकले आफ्नो सुरक्षा आफैं व्यवस्थापन गर्नुपर्ने अवस्था बनेको छ। तर सुरक्षा चुनौती र इरान समर्थित समूहहरूको प्रभावका कारण आगामी दिनमा इराकको सुरक्षा अवस्था कस्तो हुन्छ भन्ने विषयमा चासो बढेको छ।