झापासहित कोशी प्रदेशका चार जिल्लामा असोज १७ र १८ गते दैनिक ८ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले प्रसारण प्रणालीमा महत्वपूर्ण प्राविधिक काम गर्नुपर्ने भएकाले बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म विद्युत् आपूर्ति बन्द गर्ने जनाएको छ।
केरौन १३२/३३ केभी सबस्टेशन आयोजनाअन्तर्गत दुहबी–दमक १३२ केभी प्रसारण लाइनमा ‘लूप इन लूप आउट’ अर्थात् एलआईएलओ कार्य गर्न विद्युत् लाइन बन्द गर्नुपर्ने भएको हो।
विद्युत् अवरुद्ध हुँदा झापा, इलाम, पाँचथर र ताप्लेजुङका सम्पूर्ण क्षेत्र प्रभावित हुनेछन्। यस्तै, मोरङको उर्लाबारी, पथरी तथा आसपासका क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।
बिहानको समयमा लामो समय विद्युत् आपूर्ति बन्द हुँदा उद्योग, व्यापार–व्यवसाय, कार्यालय तथा घरायसी कामसमेत प्रभावित हुन सक्ने भएकाले उपभोक्तालाई आवश्यक तयारी गर्न आग्रह गरिएको छ।