दमक–४ का कमल पौडेलले आफ्नो जन्मदिनको अवसरमा झापाको गौरीगञ्ज–१ होकलबाडीस्थित इन्द्रेणी आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका छन्।
पौडेलले जन्मदिनमा हुने फजुल खर्च कटौती गर्दै पहिलो पाइला नेपाल दमक शाखामार्फत विद्यालयका ५० भन्दा बढी विद्यार्थीलाई न्यानो स्वीटर प्रदान गरेका हुन्। साथै, व्यवसायी सुभाषचन्द्र गर्तौला र युवराज निरौलाले विद्यार्थीका लागि कापी–कलमलगायत स्टेशनरी सामग्री सहयोग गरेका छन्।
पौडेलकी श्रीमती तथा पहिलो पाइला नेपाल दमक शाखाकी सचिव पूजा दाहाल, शाखा अध्यक्ष राजु निरौला, सल्लाहकार महेश घिमिरे, गणेश प्रधानलगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो। विद्यालयले सहयोगी पौडेल र पहिलो पाइला नेपाल दमक शाखालाई सम्मानपत्रसमेत प्रदान गरेको छ।