दमक । क्लब हिमालयन टाइगरले आफ्नो सातौँ स्थापना दिवसको अवसर पारेर झापा–पाँचथर सेवा समाजसँगको सहकार्यमा आज दमक चोकमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा करिब ३० पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।
रक्तदान कार्यक्रममा क्लब हिमालयन टाइगरका पदाधिकारी तथा सदस्यहरूका साथै झापा–पाँचथर सेवा समाजका कार्यवाहक अध्यक्ष नीलकण्ठ सापकोटा, सचिव विरोध सुबेदी, सह–सचिव देउकुमार नेम्वाङ लगायतको सहभागिता रहेको थियो।
त्यस्तै, दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भगवान बस्नेत, नेपाल रेडक्रस सोसाइटी दमक शाखा रक्तसञ्चार विभागका प्रमुख सिद्धार्थ दाहाल, सामाजिक अभियन्ता चेतना निरौला, दमक ज्येष्ठ अभिभावक सेवा समाज आरती समितिका संयोजक रमेश दाहाल तथा वडा नम्बर ६ समितिकी अध्यक्ष मैना दाहाल राउत लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो।
रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी दमक शाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न उमेर तथा क्षेत्रका व्यक्तिहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए।
स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै आयोजना गरिएको रक्तदान कार्यक्रमले आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको अभाव न्यूनीकरणमा सहयोग पुग्ने आयोजकको विश्वास छ।
कार्यक्रम सम्पन्न भएपछि आयोजक क्लबले रक्तदानजस्तो मानवीय तथा पुण्य कार्यमा सहभागी हुने सम्पूर्ण रक्तदाता, सहयोगी, अतिथि तथा उपस्थित सबैप्रति आभार व्यक्त गरेको छ। साथै कार्यक्रमलाई प्राविधिक सहयोग प्रदान गर्ने नेपाल रेडक्रस सोसाइटी दमक शाखाप्रति पनि आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ।