दमक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं. ५ को क्षेत्रीय सभापतिमा रवि न्यौपाने निर्वाचित हुनुभएको छ।
क्षेत्रीय सभापति पदको निर्वाचनमा न्यौपानेले ४४१ मत प्राप्त गर्दै प्रतिस्पर्धी रोशनकुमार विष्टलाई २० मतले पछि पार्नुभएको हो। विष्टले ४२१ मत प्राप्त गर्नुभएको छ।
निर्वाचनमा ९०२ मत खसेको जनाइएको छ।
निर्वाचित भएपछि न्यौपानेले आफूलाई प्राप्त विश्वास, समर्थन र शुभेच्छाका लागि वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ।
उहाँले प्राप्त जिम्मेवारीलाई व्यक्तिगत उपलब्धिका रूपमा नभई संगठनप्रतिको साझा विश्वासका रूपमा लिँदै आपसी सहकार्य, संवाद, संगठनात्मक एकता र जिम्मेवारीबोधका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रतिस्पर्धी रोशनकुमार विष्टप्रति सम्मान व्यक्त गर्दै न्यौपानेले निर्वाचनपछि आफूहरू सहयात्री भएको उल्लेख गर्नुभएको छ। विष्टको अनुभव, ऊर्जा र सुझावलाई समेत साथमा लिएर झापा क्षेत्र नं. ५ को कांग्रेस संगठनलाई थप मजबुत बनाउने उहाँले बताउनुभएको छ।
“व्यक्ति होइन संगठन, प्रतिस्पर्धा होइन सहकार्य र गुट होइन समग्र कांग्रेस” भन्ने भावनाका साथ अघि बढ्ने न्यौपानेको भनाइ छ।
उहाँले निर्वाचनमा सहयोग, सद्भाव र शुभेच्छा प्रदान गर्ने सम्पूर्ण कांग्रेसजन, निर्वाचन समिति, सञ्चारकर्मी तथा सुरक्षाकर्मीप्रति समेत आभार व्यक्त गर्नुभएको छ।