मनाङ सदरमुकाम चामेमा पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदीको बहाव खोल्न प्रशासनले ब्लास्ट गर्ने तयारी थालेको छ।
ब्लास्टका लागि मंगलबारदेखि दुईवटा डोजर परिचालन गरी पहिरोको लेदो र ढुंगा पन्छाउन थालिएको छ। पहिरोका कारण नदी थुनिएपछि चामे क्षेत्रमा पानी जमेर ताल बनेको छ।
तालको पानी बढ्दा मोटरेबल पुलसहित केही होटल र घरसमेत डुबानमा परेका छन्। नदीको बहाव केही खुले पनि पानीको निकास सहज हुन सकेको छैन।
प्रशासनले पहिरोभित्रका ठूला ढुंगामा प्वाल पारेर आवश्यक परे ब्लास्ट गरी नदीको बहाव थप सहज बनाउने तयारी गरेको जनाएको छ।