सरकार र नियामकले सेयर बजारलाई सकारात्मक बनाउन विभिन्न प्रयास गरे पनि बजारले अपेक्षित प्रतिक्रिया देखाउन सकेको छैन।
पुँजीगत लाभकर घटाइएको छ, संस्थागत लगानी सहज बनाइएको छ भने ब्याजदर पनि न्यून अवस्थामा छ। त्यस्तै, सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्न थाले पनि बजारमा त्यसको प्रभाव सीमित देखिएको छ।
हाल एक वर्षभन्दा बढी अवधिको कारोबारमा ३.७५ प्रतिशत र एक वर्षभन्दा कम अवधिको कारोबारमा ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले आफ्नो लगानीमा रहेको सेयर बिक्री गर्न पाउने अवधि पनि ६ महिनाबाट घटाएर ४५ दिनमा झारेको छ।
अहिलेसम्म २७ कम्पनीले लाभांश घोषणा गरेका छन्। तर लाभांश घोषणाअघि र पछिको मूल्य तुलना गर्दा तीन कम्पनीको मात्रै सेयर मूल्य १० प्रतिशतभन्दा बढी बढेको छ।
लाभांशको सिजन अझै बाँकी रहेकाले आगामी दिनमा बजारमा कस्तो प्रभाव पर्छ भन्ने स्पष्ट भइसकेको छैन। तर लगानीकर्ताको कमजोर आत्मविश्वासका कारण बजारले अझै स्पष्ट दिशा लिन नसकेको एक ब्रोकरले बताएका छन्।
उनका अनुसार सरकारी कर्मचारी र ठूला व्यवसायीहरू पहिलेको तुलनामा बजारमा निष्क्रिय देखिएका छन्। ठूला लगानीकर्ताको विश्वास बढ्न नसक्दा पनि बजारमा अपेक्षित उत्साह आउन नसकेको उनको भनाइ छ।