नेपाली कांग्रेसका नेता विनोद चौधरी नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्। सोमबार भएको क्षेत्रीय अधिवेशनबाट चौधरी मधेसी क्लस्टरतर्फ सर्वसम्मत महाधिवेशन प्रतिनिधि बनेका हुन्।
यही क्लस्टरबाट प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन्। सर्वसम्मत हुन नसकेका पदमा भने सोमबार निर्वाचन भएको थियो, जसमा खुलातर्फ ७५ जनाको उम्मेदवारी परेको थियो।
चौधरी गत फागुनको निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार बने पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित भएका थिए। यसअघि उनी २०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।
चौधरी २०६४ र २०७४ मा समानुपातिकतर्फबाट सांसद बनेका थिए भने १४औँ महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए। गत वर्ष पुसमा भएको विशेष महाधिवेशनमा पनि सहभागी भएका चौधरी त्यहाँबाट केन्द्रीय सदस्य चयन भएका थिए।