काठमाडौं । स्ट्रेट अफ होर्मुज क्षेत्रमा अमेरिका र इरानबीच तनाव बढिरहेका बेला अमेरिकी युद्धपोतहरू इरानी तटबाट थप पछाडि हटेको इरानले दाबी गरेको छ। इरानी अधिकारीहरूले होर्मुज आसपास अमेरिकी नौसैनिक जहाजसहित विभिन्न पानीजहाजमाथि आक्रमण गरेपछि अमेरिकी युद्धपोतहरू आफ्नो अघिल्लो तैनाथी क्षेत्रबाट पछाडि सरेको बताएका छन्।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी युद्धपोतहरू यसअघि इरानी बन्दरगाह चाबहार तथा ओमानको खाडी प्रवेशद्वारनजिक तैनाथ थिए। अहिले ती जहाजहरू इरानी क्षेप्यास्त्रको जोखिमबाट बच्न मध्य अरब सागरतर्फ थप पछाडि सरेको दाबी गरिएको छ।
इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईको नाममा सार्वजनिक गरिएको सन्देशमा समेत अमेरिकी नौसैनिक गतिविधितर्फ संकेत गर्दै अमेरिकी सेनाले होर्मुज क्षेत्रमा ‘पीडादायी प्रहार’ खेपेको र थप अघि बढ्न रोकिएको दाबी गरिएको छ। यद्यपि, अमेरिकी पक्षले इरानको उक्त दाबीबारे औपचारिक प्रतिक्रिया दिएको छैन।
यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले सेप्टेम्बर १४ मा स्ट्रेट अफ होर्मुजमा इरानले प्रहार गरेको एन्टिसिप क्रुज क्षेप्यास्त्रको घटनामा आठ अमेरिकी मरीन सैनिकलाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या तथा सम्भावित मस्तिष्क चोट लागेको रिपोर्ट सार्वजनिक गरेका थिए।
अमेरिकी रक्षा मन्त्रालयले यसअघि २९ अमेरिकी नाविक र आठ मरीनलाई युद्धमा घाइते सैनिकको सूचीमा थपेको थियो। रिपोर्टअनुसार फेब्रुअरी २८ मा युद्ध सुरु भएयता घाइते अमेरिकी सैनिकको संख्या ८६१ पुगेको छ भने कम्तीमा १९ जनाको मृत्यु भएको बताइएको छ।
तनावबीच तेलको आवागमन बढ्यो
अमेरिका र इरानबीच तनाव जारी रहे पनि स्ट्रेट अफ होर्मुज हुँदै तेलको आवागमन भने पछिल्ला साताहरूमा बढेको बताइएको छ। अमेरिकी ऊर्जा सचिव क्रिस राइटले दैनिक करिब १ करोड ३० लाख ब्यारेल कच्चा तेल होर्मुज हुँदै पार भइरहेको बताएका छन्।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने यो परिमाण दैनिक १ करोड ५० लाखदेखि २ करोड २० लाख ब्यारेलसम्म रहेको अनुमान गरेका छन्। युद्ध सुरु हुनुअघि यही मार्गबाट दैनिक करिब २ करोड ब्यारेल तेल आवतजावत हुने गरेको बताइएको छ।
डाटा तथा विश्लेषण कम्पनी केप्लरको प्रारम्भिक तथ्यांकअनुसार सेप्टेम्बरमा होर्मुज हुँदै कच्चा तेलको औसत ढुवानी दैनिक करिब ७४ लाख ब्यारेल रहने अनुमान गरिएको छ। सेप्टेम्बर २७ मा समाप्त भएको एक सातामा मात्रै १९ वटा तेल ट्यांकरले होर्मुज पार गरेका थिए। तीमध्ये १७ वटा अत्यन्त ठूला कच्चा तेलवाहक जहाज अर्थात् भीएलसीसी थिए।
साउदी अरब, संयुक्त अरब इमिरेट्स, इराक, ओमान, कतार, कुवेत र इरानलगायत खाडी क्षेत्रका देशहरूको तेल निर्यातसमेत सेप्टेम्बरमा दैनिक १ करोड २८ लाख ब्यारेल पुगेको बताइएको छ। यो युद्ध सुरु भएयताकै उच्च स्तर भएको दाबी गरिएको छ।
कूटनीतिक प्रयास पनि जारी
यसैबीच, स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने विषयमा अमेरिका र इरानबीच मतभेद कायमै छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज खोल्न इरानले राखेका सर्त अस्वीकार गरेको बताएका छन्।
इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता नगर्ने बताउँदै आएको छ। भविष्यमा हुने सम्भावित सम्झौताका लागि ओमानको मध्यस्थतामा अघि बढाइएको समझदारीलाई आधार बनाउनुपर्ने इरानको धारणा छ।
इरानले नाकाबन्दी हटाउने र होर्मुज पुनः खोल्ने विषयसँगै आफ्नो आणविक कार्यक्रमसम्बन्धी विषयलाई पनि वार्तामा समेटिनुपर्ने बताउँदै आएको छ।
विश्लेषकहरूले कूटनीतिक प्रयास असफल भएमा इरानले होर्मुज आसपास पानीजहाजलाई लक्षित गर्ने गतिविधि थप बढाउन सक्ने सम्भावना औँल्याएका छन्। तर त्यस्तो कदमले अमेरिका र इरानबीचको तनाव थप चर्किन सक्ने जोखिमसमेत रहेको उनीहरूको भनाइ छ।
हाल दुवै पक्षबीच सैन्य तनावसँगै कूटनीतिक पहलसमेत जारी रहेकाले होर्मुज क्षेत्रको अवस्था अन्तर्राष्ट्रिय ऊर्जा बजार र समुद्री व्यापारका लागि महत्वपूर्ण बनेको छ। तत्काल पूर्णस्तरको युद्धको अवस्था नदेखिए पनि नियन्त्रित रूपमा तनाव बढ्ने जोखिम भने कायमै रहेको विश्लेषकहरूको भनाइ छ।