दमक ज्येष्ठ अभिभावक सेवा समाजले आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभाको अवसरमा दमक नगरपालिकाका १० वटै वडाबाट सहभागी करिब ५० जना ज्येष्ठ आमा–बुबालाई सम्मान गरिएको छ।
दमक–६ स्थित पशुपति मन्दिरको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन नगर प्रमुख रामकुमार थापाले गर्नुभएको थियो। कार्यक्रममा समाजले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो।
‘ज्येष्ठ अभिभावकको सहारा, युवाहरूको अभिभारा’ भन्ने मूल नाराका साथ २०८० सालमा स्थापना भएको समाजले ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र सामाजिक सहभागिताका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ।
नगर प्रमुख थापाले युवाहरूको नेतृत्वमा सामाजिक सेवाको उद्देश्यले स्थापित संस्थाले ज्येष्ठ नागरिकका क्षेत्रमा गर्दै आएका गतिविधि प्रशंसनीय रहेको बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकको सम्मान र सहभागिता बढाउन महाआरतीलगायतका कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो।
ज्येष्ठ अवस्थालाई बोझ नभई सम्मान, आत्मीयता र सक्रिय जीवनको अवसरका रूपमा स्थापित गर्ने उद्देश्य राखेको समाजले ज्येष्ठ नागरिकमा बढ्दो एक्लोपन र सामाजिक दूरी न्यूनीकरणका लागि सम्मान, सहयोग, तीर्थाटन, मठमन्दिर दर्शन, भजन–कीर्तन, आरती, अवलोकन तथा भ्रमणलगायतका गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।
हाल करिब २ हजार सदस्य आबद्ध रहेको समाजले दमकलाई ज्येष्ठ नागरिकमैत्री नगरका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ। त्यसका लागि सुविधायुक्त धर्मशाला निर्माण तथा संरक्षण गर्दै विशुद्ध सामाजिक सेवामा समर्पित संस्थाका रूपमा अघि बढ्ने समाजले जनाएको छ।