दमक । दमक–६ स्थित शिखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले माइन्युट प्रमाणीकरणसहित आफ्नो १५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो।
संस्थाका सचिव तीर्थराज चाम्लिंग राईले सञ्चालन गरेको कार्यक्रममा दमक–६ का वडाध्यक्ष टेकबहादुर थापा, झापा जिल्ला सहकारी संघका लेखा तथा सुपरिवेक्षण समिति संयोजक एवं सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चुडामणि ओझा, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बुद्धिसागर बराल, संस्थापक अध्यक्ष प्रितम लिङ्देन, नेफ्स्कूनकी कर्मचारी तृप्ता ढकाललगायत विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाकी सदस्य गोमा मगरले स्वागत मन्तव्य राखेकी थिइन्। साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष तेजकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन समिति संयोजक विवेक मैनालीले प्रस्तुत गरेका थिए।
संस्थाका प्रमुख व्यवस्थापक तुलसी राजवंशीका अनुसार असोज ९ गते गौरादह सेवा केन्द्रमा इकाई–१ अन्तर्गत वार्षिक साधारणसभा सम्पन्न गरिएको थियो। त्यसैको निरन्तरतास्वरूप असोज १० गते दमकस्थित पशुपति मन्दिरको सभाहलमा केन्द्रीय कार्यालयअन्तर्गतको साधारणसभा सम्पन्न गरिएको हो।
राजवंशीका अनुसार संस्थाले आफ्ना शेयर सदस्यलाई लक्षित गर्दै अवलोकन भ्रमण, वार्षिकोत्सव, रक्तदानलगायत विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। आगामी दिनमा पनि सदस्यको आर्थिक तथा सामाजिक हितलाई प्राथमिकतामा राख्दै वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने उनले बताए।
साधारणसभाको अवसरमा संस्थाले दुई दर्जनभन्दा बढी ज्येष्ठ नागरिक शेयर सदस्य, बाल बचतकर्ता तथा कर्मचारीलाई सम्मान गरेको थियो।
सभामा प्रस्तुत आर्थिक विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको शेयर पुँजी ३ करोड ४ लाख ३२ हजार ९ सय रुपैयाँ पुगेको छ। त्यस्तै, कुल बचत ३४ करोड ६ लाख २४ हजार ६ सय ३३ रुपैयाँ ४३ पैसा, ऋण लगानी ३२ करोड १२ लाख रुपैयाँभन्दा बढी र कुल सम्पत्ति ४० करोड ६१ लाख ५० हजार १९ रुपैयाँ ४० पैसा रहेको छ।
संस्थाको तरलता २३ दशमलव ४५ प्रतिशत रहेको छ भने शेयर सदस्य संख्या २ हजार ८ सयभन्दा बढी र ऋणी सदस्य संख्या ४ सय ६१ रहेको आर्थिक विवरणमा उल्लेख छ।
साधारणसभामा संस्थाको आर्थिक अवस्था, बचत तथा ऋण लगानी, सदस्य संख्या, संस्थागत गतिविधि तथा आगामी कार्ययोजनालगायतका विषयमा समीक्षा गरिएको थियो। आगामी दिनमा संस्थाको वित्तीय अवस्था थप सुदृढ बनाउँदै सदस्य केन्द्रित सेवा र सामाजिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।