दमक । झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। दमकस्थित कस्मिक पार्टी प्यालेसमा सम्पन्न साधारणसभामा संस्थाको विगतको प्रगति, वर्तमान आर्थिक अवस्था, सदस्यको वित्तीय हित तथा आगामी आर्थिक वर्षका कार्ययोजनामाथि छलफल गरिएको थियो।
झापा र मोरङका विभिन्न स्थानमा रहेका संस्थाका सेवा केन्द्रहरूलाई एकीकृत गरी आयोजना गरिएको साधारणसभामा संस्थाका ज्येष्ठ सदस्य तथा पूर्वसञ्चालक तुलसीराम प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा संस्थाका पदाधिकारी, सञ्चालक समिति, कर्मचारी, शेयर सदस्य तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेकाे थियो।
साधारणसभामा अध्यक्ष बुद्धिसागर बराल ‘बिमल’ले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमा संस्थाले सदस्यको बचतलाई सुरक्षित तथा उत्पादनशील क्षेत्रमा परिचालन गर्दै सहकारीको उद्देश्यअनुसार वित्तीय सेवा प्रवाह गर्दै आएको उल्लेख गरिएको छ। संस्थाले सदस्यको विश्वास कायम राख्दै संस्थागत सुशासन, पारदर्शिता र सदस्यको आर्थिक हितलाई प्राथमिकतामा राखेर आगामी दिनमा आफ्ना गतिविधि अघि बढाउने प्रतिबद्धता जनाएको छ।
संस्थाको आर्थिक अवस्थाअनुसार हाल बचत ९३ करोड रुपैयाँभन्दा बढी रहेको छ। चालू आर्थिक वर्ष २०८३/८४ मा बचतलाई वृद्धि गरी १ अर्ब १५ करोड रुपैयाँ पुर्याउने लक्ष्य संस्थाले लिएको छ। त्यसैगरी, संस्थाले हाल ९६ करोड रुपैयाँभन्दा बढी रकम लगानी गरिसकेको जनाएको छ। आगामी आर्थिक वर्षमा लगानीलाई बढाएर १ अर्ब २६ करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ।
संस्थाको शेयर पुँजी हाल १० करोड ९३ लाख रुपैयाँ रहेकोमा आगामी दिनमा यसलाई वृद्धि गरी १३ करोड रुपैयाँ पुर्याउने लक्ष्यसमेत साधारणसभामार्फत अघि सारिएको छ। बचत तथा लगानीको आकार विस्तारसँगै सदस्यलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने संस्थाको योजना रहेको जनाइएको छ।
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीराम प्रसाईले संस्थालाई थप सबल र व्यवस्थित सहकारीका रूपमा अघि बढाउन सदस्यहरूको नियमित बचत गर्ने बानीलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले चुनौतीपूर्ण परिस्थितिमा समेत संस्थाले आफ्ना सेवा तथा गतिविधिलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा सहकारीलाई अझ मजबुत बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले स्थानीय आर्थिक गतिविधि तथा उद्यमशीलता प्रवर्द्धनमा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दै सदस्य तथा स्थानीय व्यवसायीलाई आर्थिक रूपमा सबल बनाउन थप योगदान गर्नुपर्ने धारणा राख्नुभयो।
साधारणसभामा संस्थाले लगानी गरेको रकमको असुलीलाई प्रभावकारी बनाउने विषयलाई समेत प्राथमिकताका साथ अघि सारेको छ। प्रचलित कानुनी प्रावधानको पूर्ण पालना गर्दै ऋण असुलीलाई व्यवस्थित र प्रभावकारी बनाउन कर्मचारीसँगै सञ्चालकहरूको विशेष समिति परिचालन गर्ने योजना संस्थाले अघि सारेको जनाएको छ।
सहकारीले सदस्यको नियमित बचत, ऋण कारोबार तथा वित्तीय अनुशासनलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मान गरेको छ। त्यसैगरी उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, पूर्वसञ्चालक तथा उत्कृष्ट बचतकर्तालाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
साधारणसभाको अवसरमा संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट पत्रकार पुरस्कार यस वर्ष दमकका युवा पत्रकार सुजन गौतमलाई प्रदान गरेको छ। पत्रकारितामार्फत सहकारी तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप गौतमलाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको संस्थाले जनाएको छ।
संस्थाका व्यवस्थापक राजकुमार बरालका अनुसार सदस्यलाई बचत, ऋण कारोबार तथा वित्तीय अनुशासनमा प्रोत्साहित गर्ने उद्देश्यले उत्कृष्ट सदस्य तथा कारोबारीलाई सम्मान गरिएको हो। सदस्यको सहभागिता र विश्वासलाई संस्थाको मुख्य आधारका रूपमा लिँदै आगामी दिनमा वित्तीय अनुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहमा जोड दिने उहाँले बताउनुभयो।
साधारणसभाले संस्थाको विगतको प्रगतिको समीक्षा गर्दै आगामी वर्षका लागि बचत, लगानी तथा शेयर पुँजी वृद्धि गर्ने लक्ष्यसमेत तय गरेको छ। उत्पादनशील क्षेत्रमा लगानी विस्तार, ऋण असुलीलाई प्रभावकारी बनाउने, सदस्यको आर्थिक क्षमता अभिवृद्धि गर्ने तथा संस्थागत सुशासनलाई थप सुदृढ बनाउने विषयलाई आगामी कार्ययोजनामा प्राथमिकता दिइएको छ।
सदस्यको बचतलाई सुरक्षित रूपमा परिचालन गर्दै स्थानीयस्तरमा आर्थिक गतिविधि र उद्यमशीलता प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यका साथ अघि बढिरहेको स्वर्णलक्ष्मी सहकारीले आगामी दिनमा सेवा विस्तारसँगै वित्तीय अनुशासन र संस्थागत पारदर्शितालाई थप मजबुत बनाउने जनाएको छ।