काठमाडौं, असोज ८। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण नेपालजस्ता जोखिममा रहेका मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित जलवायुसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालमा हालैका विपद्मा १ हजार ४ सयभन्दा बढी मानिसको मृत्यु, करिब ६ हजार बेपत्ता र ५ अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको उल्लेख गरे।
उनले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु संकटको असमान असर भोगिरहेको बताए। नेपालमा करिब ४६ प्रतिशत भूभाग वनले ढाकेको, नयाँ सवारीसाधनको ७० प्रतिशतभन्दा बढी विद्युतीय रहेको र ऊर्जाको ९० प्रतिशतभन्दा बढी हिस्सा जलविद्युत्बाट आउने उनले बताए।
मन्त्री खनालले विपद् आउनुअघि नै उपलब्ध हुने पर्याप्त जलवायु वित्त, अनुकूलनका लागि थप लगानी तथा हानी तथा नोक्सानी कोषलाई सहज र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
उनले हिमालयमा देखिएको जलवायु संकट नेपालमा मात्र सीमित नरहेको भन्दै हिमाल, नदी र जल प्रणालीको संरक्षण विश्वव्यापी जलवायु सुरक्षासँग जोडिएको बताए।
‘नेपालमा भएको घटना विश्वका लागि चेतावनी हो,’ भन्दै खनालले तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने प्रयास दोब्बर बनाउन र जलवायु कार्यलाई परोपकार नभई न्यायको विषयका रूपमा लिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।