झापा । झापाको मेचीनगर–७ गैरीगाउँस्थित एक बंगुर फार्ममा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा म्याग्दी घर भई मेचीनगर–१० बस्ने ४५ वर्षीय गुप्तबहादुर सिंह ‘राम’ र भारतको आलेपुर विरपारा घर भई मेचीनगर–८ बस्ने ४९ वर्षीय संजय लामा रहेका छन्।
प्रहरीका अनुसार उक्त कंकाल करिब दुई वर्षदेखि बेपत्ता दिलनाथ बजगाईँको हुन सक्ने आशंका गरिएको छ। बजगाईँ २०८१ कात्तिक २९ गते काँकडभिट्टाबाट बेपत्ता भएका थिए।
बेपत्ता बजगाईँकी श्रीमतीले प्रहरीमा निवेदन दिएपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा बजगाईँसँगै हिँड्ने सिंहसँग सोधपुछ गर्दा उनले घटनाबारे जानकारी दिएको प्रहरीको भनाइ छ।
सिंहले देखाएको स्थानमा प्रहरीले स्थानीय र जनप्रतिनिधिको रोहबरमा जेसीबी प्रयोग गरी उत्खनन् गर्दा मानव कंकाल फेला पारेको हो।
बरामद कंकाल परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। कंकाल बजगाईँकै हो वा होइन पुष्टि गर्न शव परीक्षणपछि नमुना केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।