पोखरा, असोज ८ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गरेसँगै पोखरेलीको वर्षौंदेखिको अन्तर्राष्ट्रिय उडानको सपना साकार भएको छ।
बुधबार साँझ दुबईबाट आएको फ्लाई दुबईको बोइङ जहाज ६ बजेर १८ मिनेटमा पोखरा अवतरण गरेको थियो। १ सय ६६ सिट क्षमताको जहाजमा १ सय १३ यात्रु पोखरा आएका थिए। पोखरा पुगेपछि जहाजलाई पानीका फोहोरा र स्थानीयको उपस्थितिमा स्वागत गरिएको थियो। सोही जहाज साँझ ७ बजेर ५४ मिनेटमा १ सय ५२ यात्रु लिएर दुबई फर्किएको थियो।
यो उडानसँगै पोखरा र संयुक्त अरब इमिरेट्सबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापना भएको छ। दुबईबाट पोखरा आउन करिब ४ घण्टा ३० मिनेट र पोखराबाट दुबई पुग्न करिब ४ घण्टा ५० मिनेट लाग्ने बताइएको छ।
आफ्नै विमानस्थलमा ओर्लिन पाउँदा यात्रु उत्साहित
पहिलो नियमित अन्तर्राष्ट्रिय उडानबाट पोखरा आएका यात्रुले आफ्नै क्षेत्रको विमानस्थलमा ओर्लिन पाउँदा खुसी व्यक्त गरेका छन्। दुबईमा पाँच वर्ष रोजगारी गरेर फर्किएकी म्याग्दीकी तारा सिंजालीमगरले पोखरा विमानस्थलमा ओर्लिन पाउँदा निकै खुसी लागेको बताइन्।
त्यस्तै, लामो समयदेखि खाडी मुलुकमा रोजगारी गर्दै आएका यात्रुले काठमाडौं ओर्लिएर पुनः सडकमार्फत घर पुग्नुपर्ने बाध्यता हट्ने बताएका छन्। अब विदेशबाट दुबई हुँदै पोखरा आउन र पोखराबाटै पुनः विदेश जान सकिने भएपछि यात्राको समय र झन्झट कम हुने अपेक्षा गरिएको छ।
बेलायत अध्ययनका लागि जाने यात्रु तथा विदेशबाट फर्किएका अन्य यात्रुले पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान नियमित हुनुपर्ने बताएका छन्।
पर्यटन व्यवसायमा नयाँ सम्भावना
पोखराबाट दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क जोडिएपछि गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा समेत नयाँ सम्भावना सिर्जना भएको पर्यटन व्यवसायीहरूको भनाइ छ।
दुबई विश्वका विभिन्न मुलुकसँग जोडिएको प्रमुख हवाई हब भएकाले पोखराबाट दुबई हुँदै युरोप, अमेरिका, मध्यपूर्वलगायत विभिन्न गन्तव्यमा यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ। यसले गण्डकी प्रदेशमा विदेशी पर्यटकको आगमन बढाउन तथा विदेशमा रहेका नेपालीलाई पोखरा ल्याउन सहयोग पुग्ने व्यवसायीहरूको विश्वास छ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले दुबईसँगको हवाई सम्पर्कले पोखराको पर्यटनको सम्भावनालाई थप फराकिलो बनाउने बताएका छन्।
पोखरेलीका लागि ऐतिहासिक दिन
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुनु पोखराका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन्। यसअघि चार्टर उडान भए पनि नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा फ्लाई दुबईको उडानले नयाँ सुरुवात गरेको उनको भनाइ छ।
पर्यटन व्यवसायी गोपी भट्टराईले पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान सम्भव हुन्छ कि हुँदैन भन्ने लामो समयदेखिको अन्योल हटेको बताएका छन्। उनका अनुसार पर्यटन विकासका लागि हवाई कनेक्टिभिटी महत्वपूर्ण भएकाले उडानलाई निरन्तरता दिन सबै पक्षको सहकार्य आवश्यक छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते उद्घाटन भए पनि लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन सकेको थिएन। यसबीच चीन तथा भुटानलगायत गन्तव्यमा चार्टर उडान भए पनि नियमित उडानको प्रतीक्षा भने कायमै थियो।
अब चुनौती नियमितता
फ्लाई दुबईको नियमित उडान सुरु भएपछि पोखरेलीमा उत्साह बढेको छ। तर, यो उत्साहलाई दीर्घकालीन उपलब्धिमा परिणत गर्न उडानको नियमितता मुख्य चुनौती बनेको छ।
फ्लाई दुबईले कम्तीमा ६ महिनाका लागि दैनिक उडान गर्ने गरी टिकट बुकिङ खुलाएको बताइएको छ। यात्रु आकर्षित गर्न पोखराका होटल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसायीले विभिन्न छुट तथा प्रवर्द्धनात्मक कार्यक्रमसमेत अघि सारेका छन्। फ्लाई दुबईले काठमाडौंको तुलनामा पोखरा आउने यात्रुलाई ५ हजार रुपैयाँसम्म भाडा छुट दिएको पनि बताइएको छ।
अब यात्रुको संख्या बढाउने, पर्यटन प्रवर्द्धन गर्ने, आवश्यक हवाई रुट तथा अन्तर्राष्ट्रिय समन्वय सहज बनाउने र थप गन्तव्यमा उडान विस्तार गर्ने विषय महत्वपूर्ण हुने देखिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानले पोखरेलीको लामो प्रतीक्षालाई अन्त्य गरेको छ। अब यसको निरन्तरता र विस्तारले पोखरालाई अन्तर्राष्ट्रिय हवाई यात्राको स्थायी गन्तव्यका रूपमा स्थापित गर्न कस्तो भूमिका खेल्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।