काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाका अभियानमा आफ्नो योगदानलाई निरन्तरता दिँदै आवश्यक परे १० हजारसम्म शान्ति सैनिक तथा सुरक्षाकर्मी पठाउन तयार रहेको जनाएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा राष्ट्रसंघको शान्ति सञ्चालन विभागका उपमहासचिव जाँ–पिइरे लाक्रोइक्ससँग भएको भेटमा परराष्ट्रमन्त्री शिशिर खनालले यस्तो प्रतिबद्धता जनाएका हुन्।
भेटमा मन्त्री खनालले नेपाली शान्ति सैनिकप्रति संयुक्त राष्ट्रसंघले व्यक्त गर्दै आएको विश्वास र सहकार्यका लागि धन्यवाद दिँदै नेपालले राष्ट्रसंघसँगको दीर्घकालीन सहकार्यलाई उच्च महत्त्व दिएको बताए।
हाल करिब १२ वटा संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा ४ हजार ३ सयभन्दा बढी नेपाली सैनिक तथा प्रहरी कर्मचारी कार्यरत रहेको जनाइएको छ। राष्ट्रसंघको आवश्यकता र अनुरोधअनुसार थप जनशक्ति आवश्यक परे नेपालले १० हजारसम्म शान्ति सैनिक योगदान गर्न तयार रहेको मन्त्री खनालले बताएका छन्।
नेपाली शान्ति सैनिकले व्यावसायिकता, अनुशासन, समर्पण र कार्यदक्षतामार्फत शान्ति अभियानमा योगदान पुर्याउँदै आएको उल्लेख गर्दै मन्त्री खनालले राष्ट्रसंघीय मापदण्डअनुसार प्रशिक्षण, कार्यसम्पादन, जवाफदेहिता र अन्तरसञ्चालन क्षमता अभिवृद्धिलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।