नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर पालिका अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशन निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार ७ असोजसम्म ५८ जिल्लाका ५१२ पालिकामा उद्घाटन तथा बन्द सत्रसहित निर्वाचन प्रक्रिया अघि बढेको छ ।
निर्वाचन समितिका अनुसार बाँकी २४१ पालिकामा भने ८ र ९असोजमा पनि अधिवेशन प्रक्रिया जारी रहनेछ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १६ देखि १९ असोजसम्म १५औँ केन्द्रीय महाधिवेशन आयोजना हुँदैछ । सोही महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिकाअनुसार अहिले देशभरका स्थानीय तहमा अधिवेशन भइरहेको हो ।
यसैबीच, मौसम प्रतिकूल हुनसक्ने भन्दै निर्वाचन समितिले अधिवेशन सञ्चालनका क्रममा विशेष सतर्कता अपनाउन सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।
जल तथा मौसम विभागबाट प्राप्त जानकारीअनुसार ८ देखि १२ असोजसम्म भारी वर्षा हुने पूर्वानुमान रहेकाले पालिका, प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रका अधिवेशन सञ्चालन गर्दा मौसमको अवस्थालाई ध्यानमा राख्न समितिले आग्रह गरेको हो ।