काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङले पार्टी नेतृत्वलाई नयाँ पुस्तामाथि विश्वास गर्न आग्रह गरेका छन्। ललितपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले समाज र नयाँ पुस्ताको विश्वास जित्ने नयाँ मार्गचित्र बनाउनुपर्ने बताएका हुन्।
नेम्वाङले पार्टी र आन्दोलनप्रति जनताको विश्वास तथा भरोसा घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले पार्टीका कमजोरी र कमीकमजोरीहरूलाई लुकाउनुको सट्टा आत्मसमीक्षा गर्दै सुधारको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए।
बैठकमा उनले चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङ र चे ग्वेभाराका भनाइहरू उद्धृत गर्दै गल्ती लुकाउनु समस्यालाई झन् गम्भीर बनाउनुजस्तै भएको धारणा राखे।
उनले एमालेका अग्रज नेताहरूले गरेको संघर्ष र योगदानको गौरवमय इतिहासलाई नयाँ पुस्ताले समाज र विश्वसामु सुनाउन चाहेको बताए। त्यसका लागि पार्टीलाई पुनर्गठित गर्दै नयाँ पुस्ताको विश्वास जित्न आवश्यक रहेको उनको भनाइ थियो।
नेम्वाङले पार्टीले समयअनुकूल परिवर्तन गर्दै अघि बढ्न नसके आगामी पुस्ताले एमालेको गौरवमय इतिहास सुन्ने अवस्था कमजोर बन्न सक्ने चेतावनीसमेत दिएका छन्।