काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजारका सबै प्रमुख सूचक घटेका छन्। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३६ दशमलव २५ अंकले घटेर २ हजार ६ सय १८ अंकमा झरेको छ।
बुधबार कारोबार रकमसमेत घटेको छ। अघिल्लो दिन ७ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ६ अर्ब ३५ करोड रुपैयाँमा सीमित भएको छ।
बजारमा जीवन बीमा समूह सबैभन्दा धेरै २ दशमलव ०४ प्रतिशतले घटेको छ। बैंकिङ १ दशमलव २२, विकास बैंक १ दशमलव ३६, फाइनान्स १ दशमलव ०९, होटल तथा पर्यटन ० दशमलव ९८, जलविद्युत् १ दशमलव ६६ र लगानी समूह १ दशमलव ४९ प्रतिशतले घटेका छन्।
त्यस्तै उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार समूहका सूचक पनि घटेका छन्।
बुधबार २३ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रह्यो। धौलागिरि लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ।
यसैगरी फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य ८ दशमलव ५४ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन डिस्टिलरी, लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत् र घलेम्दी हाइड्रोपावर अगाडि रहेका छन्।