दमक, असोज ५ । झापाको दमकस्थित हंम्से दुम्से सामुदायिक वन उपभोक्ता समितिको नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ। सोमबार आयोजित शपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा निर्वाचन समितिकी संयोजक गोमा बुढाथोकीले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो।
कार्यक्रमको सभापतित्व निर्वाचन समिति संयोजक गोमा बुढाथोकीले गर्नुभएको थियो भने दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्ला वन कार्यालयका प्रमुख नखुनि राज यादव र सामाजिक तथा राजनीतिक व्यक्तित्व सुरेश सुब्बा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
त्यस्तै, सब डिभिजन वन कार्यालयका प्रमुख महेश पौडेल, दमक नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हरि न्यौपाने, वडा नम्बर २ का वडाध्यक्ष प्रजापति सापकोटा र वडा नम्बर ३ का वडाध्यक्ष नवीन बराललगायतको अतिथि कारुपमा उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य आरसी अधिकारीले गर्नुभएको थियो।
शपथ ग्रहण कार्यक्रममा सामाजिक तथा राजनीतिक क्षेत्रका व्यक्तित्व, वन संरक्षणसँग सम्बन्धित सरोकारवाला तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।
६ सय ३३ हेक्टर क्षेत्रफलमा फैलिएको हंम्से दुम्से सामुदायिक वनको संरक्षण, व्यवस्थापन तथा अतिक्रमण नियन्त्रण नयाँ कार्यसमितिका प्रमुख जिम्मेवारीका रूपमा रहेको छ। वन क्षेत्रमा हुने अवैध रूख कटान र अतिक्रमण रोक्न उपभोक्ता, स्थानीय सरकार, वन कार्यालय तथा सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको विषयमा समेत ध्यान केन्द्रित भएको छ।
नवनिर्वाचित कार्यसमितिले वन संरक्षणलाई प्राथमिकतामा राख्दै स्थानीय समुदायको सहभागितामा वनको सुरक्षा र व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
वन संरक्षणका लागि कार्यसमितिको मात्रै प्रयास पर्याप्त नहुने बताउँदै नवनिर्वाचित अध्यक्ष योगराज दंगालले उपभोक्ताहरूमा वनप्रतिको अपनत्व र संरक्षणको भावना विकास हुनुपर्नेमा जोड दिनुभएको छ।
“वनको सुरक्षा म र मेरो समितिको प्रयासले मात्रै हुँदैन। सबै उपभोक्ताले ‘यो मेरो वन हो, यसको संरक्षण गर्नु मेरो कर्तव्य हो’ भन्ने भावनाको विकास नगरेसम्म केही हुन सक्दैन,” अध्यक्ष दंगालले भन्नुभयो।
वन संरक्षणका लागि टोल–टोललाई सक्रिय बनाउने, जिम्मेवारी बाँडफाँट गर्ने तथा आवश्यक स्रोतसाधन व्यवस्थापन गर्ने योजना रहेको उहाँले बताउनुभयो। प्रहरी, प्रशासन र जनप्रतिनिधिसहित सबै पक्षको सहयोगमा वन संरक्षणका गतिविधि अघि बढाउने उहाँको भनाइ छ।
वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्दै अध्यक्ष दंगालले समस्या समाधानका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
यसैबीच, आगामी शुक्रबार बिहान वन क्षेत्रमा लगाइएको फलफूल खेतीको क्षेत्रमा बृहत् सरसफाइ अभियान सञ्चालन गरिने भएको छ। अभियानमा सहभागी हुन अध्यक्ष दंगालले नगरवासीलाई अनुरोध गर्नुभएको छ।