काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशकी पूर्वकार्यवाहक सभापति गोमा तामाङसँग ७२ घण्टे स्पष्टीकरण मागेको छ।
रास्वपा कोशी प्रदेश संगठन विभागले पार्टीको विधान, नीति, आचारसंहिता तथा संगठनात्मक मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै तामाङसँग स्पष्टीकरण मागेको हो।
पार्टीका सहमहामन्त्री तथा कोशी प्रदेश संगठन विभाग प्रमुख इन्जिनियर सुरेन्द्र कार्कीका अनुसार सामाजिक सञ्जालमा प्रकाशित सामग्री तथा प्रदेश र स्थानीय संरचनाबाट प्राप्त सूचना, प्रतिवेदन र प्रमाणका आधारमा तामाङसँग विभिन्न विषयमा स्पष्टीकरण मागिएको हो।
तामाङमाथि पार्टीको आन्तरिक संगठनमा हस्तक्षेप गरेको, गुटबन्दीसम्बन्धी गतिविधि गरेको तथा संगठनात्मक विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोप लगाइएको छ।
कोशी प्रदेश निर्वाचनका क्रममा सामाजिक सञ्जालमा गरिएका पोस्ट, कमेन्ट तथा रियाक्सनमार्फत गुटबन्दीसम्बन्धी विषय सार्वजनिक गरेको भन्दै पनि विभागले प्रश्न उठाएको छ। त्यस्तै, नवनिर्वाचित प्रदेश सभापतिहरूको तस्वीरसहित आपत्तिजनक अभिव्यक्ति सार्वजनिक गरेको आरोपसमेत लगाइएको छ।
निर्वाचन प्रक्रियाप्रति असहमति भए पार्टीको विधानअनुसार सम्बन्धित निकायमा विषय राख्नुपर्नेमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेको विषयमा पनि स्पष्टीकरण मागिएको छ।
तामाङले सामाजिक सञ्जालमार्फत ‘अबबाट राजनीतिक बीट मार्ने’ भन्ने अभिव्यक्ति दिएको विषयमा समेत उनको राजनीतिक तथा संगठनात्मक भूमिकाबारे स्पष्ट पार्न भनिएको छ।
विभागले पार्टीको विधान–२०८२ का विभिन्न व्यवस्था उल्लंघन भएको हो कि होइन भन्नेबारे स्पष्ट जवाफ माग्दै पत्र प्राप्त भएको मितिले ७२ घण्टाभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।
तोकिएको समयभित्र स्पष्टीकरण नदिए वा प्राप्त स्पष्टीकरण तथ्य र प्रमाणमा आधारित नदेखिए विधान तथा अनुशासनसम्बन्धी व्यवस्थाअनुसार थप कारबाहीका लागि सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउने रास्वपाले जनाएको छ।
गोमा तामाङ पछिल्लो निर्वाचनमा सुनसरीको धरान क्षेत्रबाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पराजित भएकी थिइन्। यसअघि पनि उनी सोही क्षेत्रबाट रास्वपाकी उम्मेदवार बनेर पराजित भएकी थिइन्।