काठमाडौं । सरकारले विद्युत् महसुलमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ । ऊर्जा र अर्थमन्त्रीबीच विद्युत्मा लगाइएको भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति बनेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच आइतबार साँझ भएको छलफलमा विद्युत् सेवामा लगाइएको भ्याट हटाउने विषयमा सहमति भएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले विद्युत् सेवामा भ्याट लागू गरेको थियो । व्यवस्था अनुसार मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकलाई ५ प्रतिशत तथा औद्योगिक र अन्य गैरघरायसी ग्राहकलाई १३ प्रतिशत भ्याट लगाइएको थियो ।
विद्युत्मा भ्याट लागू भएपछि उद्योगी तथा व्यवसायीले उत्पादन लागत बढ्ने भन्दै यसको विरोध गर्दै आएका थिए । भ्याटको भारले वस्तु तथा सेवाको मूल्यसमेत बढ्न सक्ने उनीहरूको तर्क थियो ।
अब मन्त्रिपरिषद्बाट औपचारिक निर्णय भएपछि विद्युत्मा भ्याट हटाउने प्रक्रिया अघि बढ्ने बताइएको छ । साथै, साउनदेखि विद्युत् महसुलमा उठाइएको भ्याटको हिसाब मिलाएर आगामी बिलमा रकम समायोजन गर्ने तयारीसमेत गरिएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ ।
यसअघि साउनदेखि लागू हुनुपर्ने भ्याट असारकै बिलमा समेत काटिएपछि नेपाल विद्युत् प्राधिकरणले आन्तरिक राजस्व विभागसँग स्पष्टता मागेको थियो । विभागले साउनदेखि मात्रै भ्याट लागू हुने जवाफ दिएपछि प्राधिकरणले आफ्नो बिलिङ प्रणाली अद्यावधिक गरेको थियो ।