डडेल्धुरामा नेपाली कांग्रेसको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद चर्किएको छ । जिल्ला सभापति भीमबहादुर साउदले अधिवेशनको प्रक्रिया अघि बढाएपछि नेताहरूबीच मतभेद सतहमा आएको हो ।
अधिवेशनको प्रक्रियाको विरोधमा जिल्ला उपसभापति डिल्लीराज जोशीले शनिबार छलफल बोलाएका थिए । छलफलमा अर्का उपसभापति लक्ष्मी अवस्थी, सचिव शेरबहादुर भण्डारी, प्रदेशसभा सदस्य सरस्वती खड्का, जिल्ला समन्वय समिति प्रमुख गगन भण्डारीलगायत नेताहरू सहभागी भएका थिए ।
छलफलले यथास्थितिमा अधिवेशनमा सहभागी नहुने र पार्टीभित्र एकता कायम गर्न पहल गर्ने निर्णय गरेको जनाइएको छ ।
यता जिल्ला सभापति साउदसहित गोविन्द बोहरा र रघुबर भट्टलगायत नेताहरू भने अधिवेशनको प्रक्रिया अघि बढाउने पक्षमा छन् । उनीहरूले वडा अधिवेशन गर्ने तयारी गरेका छन् ।
यसैबीच, डडेल्धुराका पूर्वसभापति तथा पूर्वप्रदेशसभा सदस्य कर्णबहादुर मल्लले पनि अधिवेशन बहिष्कार गर्ने घोषणा गरेका छन् । उनले अधिकांश नेताहरू यथास्थितिमा अधिवेशनको पक्षमा नरहेको दाबी गर्दै एकलौटी रूपमा प्रक्रिया अघि बढाइएको आरोप लगाएका छन् ।
मल्लले पार्टीभित्र विभाजन र विवाद रहेको अवस्थामा अधिवेशन अघि बढाउँदा कांग्रेस झनै कमजोर बन्ने बताएका छन् । जिल्ला, स्थानीय तह तथा अधिकांश वडा कार्यसमितिले समेत अधिवेशन स्थगित गर्न माग गरिरहेको उनको दाबी छ ।
उनले तत्काल अधिवेशन सम्पन्न गर्नुभन्दा पार्टी एकता जोगाउन नेतृत्वले पहल गर्नुपर्ने बताएका छन् । साथै, पूर्वसभापति शेरबहादुर देउवासहित सबै पक्षको सहभागितामा अधिवेशन गर्ने वातावरण बनाउन दबाब सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।
मल्लले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्दै कांग्रेसलाई एकताबद्ध बनाउन नेता–कार्यकर्तालाई दृढतापूर्वक उभिन आग्रह गरेका छन् ।