दमक । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल, शाखा समिति दमक–१० को सातौँ वार्षिक साधारणसभा तथा जेष्ठ बुवा सम्मान कार्यक्रम सम्पन्न भएको छ। भर्खरै गएकाे कुशे औँसीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा वडाका ८० वर्षभन्दा माथिका ज्येष्ठ बुबाहरूलाई नगदसहित सम्मान गरिएको हो।
शाखा समिति दमक–१० का उपाध्यक्ष पुण्यप्रसाद दाहालको अध्यक्षता तथा दमक नगरपालिका–१० का वडाध्यक्ष राजेन्द्र भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद पौडेल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने १० न. वडा सदस्य भूमिका आचार्यको समेत अतिथि का रुपमा उपस्थिति रहेको थियो।
दमक–१० मा ८० वर्षभन्दा माथिका ५३ जना ज्येष्ठ बुबाहरू रहेकोमा कार्यक्रममा २६ जना मात्रै उपस्थित रहनुभएको थियो। उपस्थित ज्येष्ठ बुबाहरूलाई सम्मान गरिएको र कार्यक्रममा सहभागी हुन नसक्नुभएका बाँकी ज्येष्ठ बुबाहरूलाई घरमै पुगेर सम्मान गर्ने कार्यक्रम रहेको जानकारी गराइएको छ।
कार्यक्रममा ज्येष्ठ नागरिकहरूको सम्मान तथा सामाजिक योगदानको कदर गर्दै नगदसहित सम्मान गरिएको थियो। साथै, शाखा समितिको आगामी नेतृत्वका विषयमा छलफल गर्दै पदम राउतको अध्यक्षतामा नयाँ समिति चयन गर्ने निर्णय समेत गरिएको छ।
कार्यक्रमका विषयमा निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य चन्द्रबहादुर बिष्टले जानकारी दिनुभएको हो। उहाँका अनुसार ज्येष्ठ नागरिकहरूको सम्मान, संरक्षण र सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइँदै आएको छ।