दमक। झापाको दमकमा मुख्य कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७औँ वार्षिक साधारणसभा सुरु गरेको छ। दमक–६ स्थित संस्थाको आफ्नै सभाहलमा आयोजित कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष प्रेमकुमार कोइरालाले साधारणसभाको उद्घाटन गर्नुभएको हो।
असोज २ गतेदेखि सुरु भएको इकाइगत साधारणसभा असोज ९ गते माइन्युट प्रमाणीकरण तथा समापन कार्यक्रमसँगै सम्पन्न गरिने संस्थाले जनाएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै झापा जिल्ला सहकारी संघका अध्यक्ष प्रेमकुमार कोइरालाले बचत तथा ऋण कारोबारका आधारमा सूर्यदर्शन सहकारी झापाका सहकारी संस्थामध्ये ११औँ स्थानमा रहेको उल्लेख गर्नुभयो। उहाँले साधारणसभा सदस्यहरूले संस्थाका सम्पूर्ण कारोबार तथा गतिविधिको समीक्षा गर्नुका साथै आगामी योजनाको तर्जुमा गर्ने महत्वपूर्ण थलो भएकाले संस्थागत विषयमा सवाल–जवाफ गर्नुपर्नेमा जोड दिनुभयो।
सहकारी नियमन प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष कोइरालाले बैंकहरूलाई नेपाल राष्ट्र बैंकले नियमन गर्ने व्यवस्था रहे पनि सहकारीहरूलाई भने मन्त्रालय, विभाग हुँदै केन्द्रदेखि वडा तहसम्मका निकायले नियमन गर्ने अवस्था रहेको गुनासो गर्नुभयो। उहाँले सहकारी क्षेत्रको नियमन प्रणालीसम्बन्धी विषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको हो।
संस्थाका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ का लागि सूर्यदर्शन सहकारीका सर्वोत्कृष्ट कर्मचारीका रूपमा मेघराज आचार्यलाई सम्मान गरिएको छ।
त्यस्तै, संस्थाको स्थापनाकालदेखि नै कार्यरत रही केही समयअघि अवकाश प्राप्त गर्नुभएका कर्मचारी गोपाल पौडेललाई नगद पुरस्कार तथा सम्मानपत्रसहित सम्मान गरिएको संस्थाका निमित्त व्यवस्थापक राजकुमार खड्काले जानकारी दिनुभयो।
संस्थाले गत आर्थिक वर्षमा कार्यालय खुलेका सबै दिन नियमित रूपमा इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने आठ जना कर्मचारीलाई समेत नगद पुरस्कारसहित सम्मान गरेको छ। सम्मानित हुने कर्मचारीहरूमा यामबहादुर कार्की, निर्मल रिजाल, सुजित शर्मा र अर्जुन खतिवडा लगायत रहेको संस्थाका सञ्चालक समिति सचिव कमलप्रसाद नेपालले बताउनुभयो।
सम्मानित कर्मचारीहरूलाई संस्थाका अध्यक्ष टिकाराज सापकोटा र कार्यक्रमका प्रमुख अतिथि प्रेमकुमार कोइरालाले सम्मान गर्नुभएको थियो।
कार्यक्रममा अध्यक्ष टिकाराज सापकोटाले संस्थाको अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा समिति संयोजक डिल्लीराम मुखियाले वार्षिक लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
साधारणसभामार्फत संस्थाको वार्षिक प्रगति, आर्थिक गतिविधि तथा आगामी योजनासम्बन्धी विषयमा सदस्यहरूमाझ छलफल हुने जनाइएको छ।