दमक । झापाको दमक–६ मा रहेको उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा तथा माइन्युट प्रमाणीकरण कार्यक्रम सम्पन्न भएको छ। सभाले संस्थाको आर्थिक अवस्था, आगामी नीति तथा कार्यक्रम र सामाजिक उत्तरदायित्वका गतिविधिलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय गरेको छ।
सभामा संस्थाले करिब १८ करोड रुपैयाँको वासलातसहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यको आर्थिक समृद्धि, संस्थागत विकास तथा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर आगामी कार्यक्रम अघि बढाउने जनाएको छ।
बचत तथा ऋण सहकारी संघकी प्रदेश वरिष्ठ उपाध्यक्ष तथा संस्थाकी निवर्तमान अध्यक्ष चन्द्रकुमारी भट्टराई खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संस्थाका अध्यक्ष वीरेन्द्र पोखरेलले अध्यक्षको प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समिति संयोजक सुरेन्द्र कटुवालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारणसभाको बन्द सत्रले आवश्यक सुझावसहित दुवै प्रतिवेदन पारित गरेको संस्थाले जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि खड्का भट्टराईले सहकारी संस्थाहरूले सदस्यहरूको बचतको सुरक्षा गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो। सहकारीप्रति सदस्यको विश्वास कायम राख्न पारदर्शिता, सुशासन र आर्थिक अनुशासनलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।
त्यस्तै, दमक नगरपालिका–१० का वडाध्यक्ष राजेन्द्र भण्डारीले स्थानीयस्तरमा रोजगारी तथा आर्थिक गतिविधि बढाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। सहकारीले आफ्ना सदस्यको आर्थिक अवस्था सुधारमा केन्द्रित भएर कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।
उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाईंले सहकारी र निजी क्षेत्रबीच सहकार्य बढाउन सके स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउन सकिने बताउनुभयो।
सहकारीले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।
साधारणसभाको अवसरमा संस्थासँग उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको थियो।
सहकारीले आगामी दिनमा सदस्यहरूको आर्थिक उन्नति र संस्थाको दिगो विकाससँगै सामाजिक उत्तरदायित्व, मानवीय सेवा तथा समुदायप्रतिको दायित्वलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।