दमक । शिखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ। संस्थाको केन्द्रीय कार्यालय दमक–६ मा आज आयोजित एक कार्यक्रमका बीच आगामी साधारणसभाका लागि आर्थिक प्रतिवेदन तथा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो।
संस्थाले असोज ९ र १० गते आयोजना हुने १५औँ वार्षिक साधारणसभाका लागि करिब ४१ करोड रुपैयाँको वासलातसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यको आर्थिक समृद्धि, संस्थागत विकास तथा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर आगामी नीति तथा कार्यक्रम अघि बढाउने जनाएको छ।
सहकारीले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाका गतिविधिलाई समेत आफ्नो कार्ययोजनाको महत्वपूर्ण हिस्सा बनाएको छ। सदस्यहरूको आर्थिक हित संरक्षणसँगै समुदायप्रतिको दायित्वलाई प्राथमिकतामा राख्दै संस्थाले आगामी दिनका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएको हो।
कार्यक्रममा संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठ, उपाध्यक्ष हरि लामा, सचिव तीर्थराज चाम्लिङ राई, व्यवस्थापक तुलसी राजवंशी लगायत सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरू, कर्मचारी र शेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
शिखा बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालय दमक–६ मा रहेको छ भने गौरादहमा सेवा केन्द्र सञ्चालनमा रहेको छ। संस्थाले आफ्ना सदस्यहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै सेवा केन्द्रमार्फत समेत कारोबार सञ्चालन गर्दै आएको छ।
संस्थाका अनुसार आगामी असोज ९ गते गौरादह सेवा केन्द्रको कार्यालयमा र असोज १० गते दमक–६ स्थित पशुपति मन्दिरको सभाहलमा १५औँ वार्षिक साधारणसभा सम्पन्न हुनेछ।
साधारणसभामार्फत संस्थाको आर्थिक अवस्था, वार्षिक प्रगति, आगामी नीति तथा कार्यक्रम र सदस्य हितसँग सम्बन्धित विषयमा छलफल तथा अन्तरक्रिया हुने जनाइएको छ।