काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले असोज ३ गते मनाइने संविधान दिवसलाई ‘विरोध दिवस’का रूपमा मनाउने भएको छ।
पार्टीका नेता पूर्ण बस्नेतका अनुसार संविधानका मूलभूत विषयवस्तु तथा संविधान संशोधनको आवश्यकताबारे अन्तरक्रिया, बहस र विचार गोष्ठी आयोजना गर्दै विरोध दिवस मनाउन लागिएको हो।
जसपा नेपालले संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहनेलगायत महत्वपूर्ण उपलब्धि समेटिएको भए पनि अझै केही विषयमा विभेद कायम रहेको जनाएको छ।
पार्टीको दाबीअनुसार अन्तरिम संविधानमा सहमति भएका केही महत्वपूर्ण विषयलाई पछि बहुमत र अल्पमतका आधारमा उल्टाइएको थियो। संविधानमा सकारात्मक पक्षहरू समेटिए पनि सबै समुदायको अधिकार र समानताको विषय पूर्ण रूपमा सम्बोधन हुन नसकेको जसपा नेपालको धारणा छ।
यही कारण संविधानको संशोधन तथा परिमार्जन आवश्यक रहेको भन्दै पार्टीले असोज ३ गते देशभर अन्तरक्रिया, बहस तथा विचार गोष्ठी आयोजना गर्न जिल्ला समितिहरूलाई निर्देशन दिएको नेता बस्नेतले जानकारी दिएका छन्।
यसअघि संविधान दिवसका अवसरमा सरकारले विभिन्न औपचारिक कार्यक्रम आयोजना गर्दै आएको भए पनि जसपा नेपालले भने संविधान संशोधनको मुद्दालाई केन्द्रमा राखेर उक्त दिनलाई विरोध दिवसका रूपमा मनाउने निर्णय गरेको हो।