मोरङ । मिक्लाजुङ गाउँपालिकाको आयोजना तथा विपन्नका लागि स्वस्थ नेपालको सहकार्यमा मिक्लाजुङ–मधुमल्ला अस्पतालमा बृहत् विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
आगामी २०८३ असोज ३ गते मधुमल्ला अस्पतालमा आयोजना हुने शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने अस्पताल प्रशासनले जनाएको छ।
शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. अनिल भट्टराईले शिविर प्रमुखका रूपमा सेवा दिनेछन्। त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका बाल शल्यचिकित्सक सह–प्राध्यापक डा. दिनेशप्रसाद कोइराला लगायतका विशेषज्ञ चिकित्सकको सहभागिता रहनेछ।
शिविरमा मुटुरोग, बालरोग तथा बाल शल्यचिकित्सा, नाक–कान–घाँटी (ENT) र आन्तरिक चिकित्सासम्बन्धी सेवा उपलब्ध हुने जनाइएको छ। साथै स्वास्थ्य परीक्षण, विशेषज्ञ परामर्श, ECHO तथा ECG लगायतका सेवा निःशुल्क प्रदान गरिनेछ।
मुटुरोग तथा मधुमेहसम्बन्धी आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिने आयोजकले जनाएको छ।
ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो।
शिविरसम्बन्धी थप जानकारी तथा समन्वयका लागि मधुमल्ला अस्पताल प्रशासनका सम्पर्क व्यक्ति भूपेन्द्र अधिकारीलाई सम्पर्क गर्न सकिने जनाइएको छ।
📍 स्थान : मधुमल्ला अस्पताल, मिक्लाजुङ गाउँपालिका, मोरङ
📅 मिति : २०८३ असोज ३ गते
आयोजक : मिक्लाजुङ गाउँपालिका, मोरङ
सहकार्य : विपन्नका लागि स्वस्थ नेपाल
सम्पर्क व्यक्ति : भूपेन्द्र अधिकारी, अस्पताल प्रशासन