दमक । झापा दमककी आयुषा श्रेष्ठ खड्काको पहलमा कतारमा आयोजित तीज सांगीतिक कार्यक्रमबाट संकलित ३ लाख ५० हजार रुपैयाँ बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
कतारमा आयोजना गरिएको ‘माइती र चेली तीज सांगीतिक दर कार्यक्रम–२०२६’ बाट संकलित रकम भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि कोषमा जम्मा गरिएको हो।
दोहा, कतार र काठमाडौंमा सलून सञ्चालन गर्दै आएकी आयुषाले विपद्को समयमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेकी थिइन्। कार्यक्रममा लोक तथा दोहोरी गायक खेम सेन्चुरीसहित विभिन्न कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए।
कार्यक्रममार्फत नेपाली मौलिक संस्कृति र तीज परम्परालाई प्रवासमा जीवन्त राख्दै विपद्मा परेका नेपालीलाई सहयोग गर्ने सन्देशसमेत दिइएको आयोजकले जनाएको छ।