झापा । नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुने सुनिश्चित भएपछि झापामा इतर समूहमा रहेका केही नेता–कार्यकर्ता संस्थापन पक्षमा फर्किन थालेका छन् ।
नेपाली कांग्रेस बाह्रदशी गाउँपालिकाका पूर्वअध्यक्ष खड्गप्रसाद राजवंशी पनि इतर समूहका केही बैठकमा सहभागी भएपछि पुनः संस्थापन पक्षमा फर्किएका छन् । उनी सोमबार कांग्रेस बाह्रदशी गाउँ समितिको बैठकमा सहभागी भएका थिए ।
बैठकले आगामी असोज ३ र ४ गते हुने वडा अधिवेशनअन्तर्गत बाह्रदशी गाउँपालिकाका सातवटै वडामा सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरेको बताइएको छ ।
राजवंशीले आफू कांग्रेस भएकाले आधिकारिक कांग्रेसमै सहभागी हुने निर्णय गरेको बताएका छन् । उनले अर्को समूहको बैठकमा बोलाइएर सहभागी भएको भन्दै अब कांग्रेस एकढिक्का भइसकेकाले आफू अलमलमा नरहेको स्पष्ट पारे ।
यसैबीच, इतर समूहले केही दिनअघि झापामा जिल्ला अधिवेशन तयारीका लागि १५१ सदस्यीय समिति गठन गरेको थियो । तर, पाँचवटै प्रतिनिधिसभा क्षेत्रमा क्षेत्रीय अधिवेशन तयारी समिति गठन गर्ने निर्णय भए पनि हालसम्म कुनै समिति गठन हुन नसकेको जिल्ला सहसचिव कालेन्द्रप्रसाद सिंह राजवंशीले बताएका छन् ।