काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’लाई विशेष महाधिवेशनसम्बन्धी निर्णयमा सहमति नजनाउन निर्देशन दिएको बताइएको छ ।
काभ्रेको बल्थलीमा जारी कार्यदलको बैठकका क्रममा ओलीले बादललाई फोन गरेर विशेष महाधिवेशन वा प्रतिनिधि परिषद्बारे सहमति नबनाउन भनेको स्रोतको दाबी छ । बैठकमा आफूहरू अल्पमतमा पर्ने अवस्था आए बैठक नै रद्द गरेर हिँड्न ओलीले निर्देशन दिएको बताइएको छ ।
कार्यदलमा महासचिव शंकर पोखरेलको प्रतिवेदन बहुमत सदस्यको समर्थनमा देखिएको छ भने बादलको प्रतिवेदन अल्पमतमा परेको स्रोतको भनाइ छ । दुई फरक प्रतिवेदन आएपछि बैठकमा विवाद बढेको बताइएको छ ।
विशेष महाधिवेशन स्वीकार गर्दा संस्थापन पक्ष कमजोर हुन सक्ने भन्दै ओली पक्षले त्यसलाई रोक्न खोजेको बताइएको छ । महासचिव पोखरेलको प्रस्तावप्रति विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङसहितका प्रभावशाली नेताहरू सकारात्मक देखिएपछि एमालेभित्रको विवाद थप चर्किएको स्रोतको दाबी छ ।