जनकपुरधाम । जनकपुरधाममा ९ दलीय ‘अग्रगामी मोर्चा’ले मधेश प्रदेशस्तरीय भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। शनिबार आयोजित कार्यक्रममा मोर्चामा आबद्ध शीर्ष नेताहरू उपेन्द्र यादव, डा. सीके राउत, जनार्दन शर्मा र प्रभु साहलगायतले सम्बोधन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश निर्माण भए पनि अब मधेश राज्य निर्माणका लागि संघर्ष गर्नुपर्ने बताएका छन्। आफ्नै शासन–प्रशासन, कानुन र भाषाको अधिकार सुनिश्चित नभएसम्म मधेशी जनताले पूर्ण अधिकार प्राप्त गर्न नसक्ने उनको भनाइ छ।
मधेशी जनताको भाषा, संस्कृति, रहनसहन र पहिचानमाथि विगतदेखि नै विभेद हुँदै आएको तथा उनीहरूमाथि शोषण र दोहन गरिएको यादवले आरोप लगाए। वर्तमान सरकारले समेत मधेशी जनतालाई मतदाता र करदाताका रूपमा मात्रै हेरेको उनको दाबी छ।
यादवले वर्तमान सरकारलाई ‘कठपुतली सरकार’को संज्ञा दिँदै यसबाट धेरै आशा गर्न नसकिने बताए। चुनावका बेला संघीयता बलियो बनाउने प्रतिबद्धता जनाएर मधेशी जनताको मत लिएको तर संविधान संशोधनको विषयमा सरकार पछि हटेको उनको आरोप थियो।
नेपालको विद्यमान निर्वाचन प्रणाली भ्रष्टाचारको प्रमुख कारणमध्ये एक रहेको दाबी गर्दै यादवले निर्वाचन प्रणाली परिवर्तन गरी समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताए। छठ पर्वपछि पनि मधेशी जनताले न्याय र अधिकार प्राप्त गर्न नसके मोर्चाले थप सशक्त आन्दोलन अघि बढाउने उनले घोषणा गरे।
प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्माले नेपाली जनताको बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन अग्रगामी मोर्चा निर्माण गरिएको बताए। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने मधेशी जनता नै राष्ट्रवादका वास्तविक पहरेदार भएको उनको भनाइ थियो।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले अधिकार प्राप्ति तथा प्राप्त उपलब्धिको संरक्षणका लागि अग्रगामी मोर्चा निर्माण गरिएको बताए। मोर्चालाई दीर्घकालीन रूपमा टिकाउन आबद्ध नेताहरू इमानदारीपूर्वक अघि बढ्नुपर्ने उनको भनाइ छ।
राउतले वर्तमान सरकारमाथि कटाक्ष गर्दै नेपालीलाई विदेश जानबाट रोक्ने र विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रतिबद्धता जनाएको सरकारले दुईतिहाइ समर्थन पाएपछि झन् धेरै नेपाली विदेश जानुपर्ने अवस्था सिर्जना गरेको आरोप लगाए। उनले सरकार पूर्ण रूपमा असफल भइसकेको दाबी गर्दै आफूहरू नेतृत्व लिन तयार रहेको बताए।
मधेशमा लामो समयदेखि संघर्ष गरेका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले समेत मधेशी जनतालाई अधिकार दिन नसकेको अवस्थामा सेनाको बलमा बनेको सरकारबाट अधिकार प्राप्त हुने अपेक्षा गर्नु ‘दिवास्वप्न’ भएको राउतले टिप्पणी गरे।
आम जनता पार्टी नेपालका अध्यक्ष प्रभु साहले राज्य सञ्चालन गर्ने नेतृत्वको बेइमानीका कारण अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताए। राज्यले विभिन्न समयमा सम्झौता गर्ने तर कार्यान्वयनका क्रममा बेइमानी गर्ने प्रवृत्तिका कारण जनता पीडित हुँदै आएको उनको भनाइ थियो।
कार्यक्रममा अग्रगामी मोर्चामा आबद्ध दलका शीर्ष नेता तथा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीबाट आएका नेता, कार्यकर्ता र समर्थकहरूको सहभागिता थियो।