काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा आयोजित अन्तरक्रिया कार्यक्रमका क्रममा भएको घटनाबारे स्पष्टीकरण दिएका छन्।
उनले कार्यक्रमका क्रममा भएको घटनाको एक मिनेटभन्दा छोटो भिडियो क्लिप सामाजिक सञ्जालमा काटेर सार्वजनिक गर्दै सम्पूर्ण सन्दर्भ बङ्ग्याउने प्रयास भएको बताएका छन्।
मन्त्री पोखरेलका अनुसार सिरहा र सप्तरीमा आयोजित अन्तरक्रियामा एक सयभन्दा बढी सरोकारवालाको सहभागिता थियो। तर, दुई जना व्यक्तिले आएर हल्ला गरेपछि विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बनेकाले आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको उनले बताए।
पोखरेलले लोकतान्त्रिक व्यवस्थामा असहमति जनाउने अधिकार सबैलाई भए पनि पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउन नहुने बताएका छन्।
विद्यालय शिक्षालाई थप व्यावहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनको तयारी भइरहेको उनको भनाइ छ। आगामी शैक्षिक सत्रदेखि लागू गर्ने गरी ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ लगायतका नयाँ अवधारणा समेट्ने विषयमा सरोकारवालाबाट प्रत्यक्ष सुझाव लिइरहेको उनले बताए।
कार्यक्रममा अवरोध सिर्जना भए पनि शिक्षा सुधारको अभियान नरोकिने मन्त्री पोखरेलले बताएका छन्। घटनापछि टोलीले सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग समेत संवाद गरेको उनले जानकारी दिए।
उनका अनुसार शनिबार मात्रै करिब ८ देखि १० वटा विद्यालयमा पुगेर सुझाव सङ्कलन गरिएको छ।
मन्त्री पोखरेलले मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव तथा शिक्षा क्षेत्रमा भइरहेका कामप्रति असन्तुष्टि भए पनि त्यसलाई लिएर भ्रम फैलाउनुभन्दा आफूहरूले गरिरहेको कामको मूल्याङ्कन जनतालाई नै गर्न दिनुपर्ने बताएका छन्।
‘हामी राजनीतिक स्टन्ट वा हल्ला गर्न होइन, ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएका हौँ,’ उनले भने, ‘हल्लाभन्दा काम ठूलो हो र हाम्रो काम तथा नियतको मूल्याङ्कन जनता स्वयम्ले गर्नेछन्।’
सुझाव सङ्कलन अभियानअन्तर्गत टोली आइतबार सप्तरी हुँदै मोरङतर्फ जाने मन्त्री पोखरेलले जानकारी दिएका छन्।