काठमाडौँ । नेपाली सेनाले बाढीपहिरो प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएको छ। सेनाका अनुसार शनिबार मात्रै २० जनाको हवाई उद्धार गरिएको छ। योसँगै हालसम्म हवाई माध्यमबाट उद्धार हुनेको संख्या ४ हजार १५७ पुगेको छ।
उद्धार गरिएकामध्ये ३ हजार ८७४ जना नेपाली र २८३ जना विदेशी रहेका छन्।
विशेषगरी रसुवागढी जलविद्युत आयोजनासहित विभिन्न जलविद्युत आयोजनाका टनेलमा हराइरहेकाको खोजी तथा उद्धार कार्य जारी छ। रसुवागढीमा नेपाली सेना, विदेशी विज्ञ तथा अन्य टोली सम्मिलित संयुक्त टोलीले खोजी गरिरहेको छ।
लाङ्गटाङ्ग जलविद्युत आयोजनाको टनेलभित्र पनि संयुक्त टोलीले सम्पूर्ण क्षेत्रमा खोजी गरे पनि हालसम्म केही फेला पार्न सकेको छैन।
चिलिमे हाइड्रोमा भने स्याफ्रुबेसीदेखि टनेलसम्म हेभी इक्विपमेन्ट लैजान करिब १ हजार ५० मिटर बाटो निर्माण गरिएको छ। टनेलभित्र एक्स्काभेटर प्रयोग गरी करिब ६५ मिटर लेदो हटाइसकिएको र थप खोजी जारी रहेको सेनाले जनाएको छ।
त्यस्तै, माथिल्लो त्रिशूली–१ को हाकुबेशीस्थित अडिट–३ टनेल, त्रिशूली–३ ए को पावरहाउस तथा टनेल क्षेत्र र त्रिशूली–३ बी आयोजना क्षेत्रमा पनि संयुक्त टोलीले खोज तथा उत्खनन गरिरहेको छ।
बाढीपहिरो प्रभावित क्षेत्रमा रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म ८ हजार ८ सयभन्दा बढी नेपाली सेना प्रत्यक्ष रूपमा परिचालित छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा सहयोग गरिरहेका छन्।
नेपाली सेनाले त्रिशूली र धुन्चेमा सञ्चालन गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट शनिबार ५५ जनाले स्वास्थ्य सेवा लिएका छन्। यी सेवाबाट हालसम्म ३ हजार ७२० जनाले उपचार तथा स्वास्थ्य सेवा प्राप्त गरिसकेको सेनाले जनाएको छ।