दमक । गोल्डेन गेट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दमक–६, झापाको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष गजेन्द्र निरौलाको अध्यक्षतामा सम्पन्न साधारणसभामा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा राष्ट्रिय सहकारी बैंक दमकका कार्यालय प्रमुख अर्जुन कार्की, सामाजिक तथा मानव अधिकारकर्मी डा. कमलप्रसाद सुवेदी तथा सामाजिक व्यक्तित्व रत्नबहादुर कटुवाल अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
साधारणसभामा शेयर सदस्य, शुभेच्छुक तथा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अतिथिहरूले सहकारीलाई केवल बचत गर्ने र ऋण लिने संस्थाका रूपमा मात्र बुझ्न नहुने बताउँदै साझा पूँजी, साझा जिम्मेवारी र साझा भविष्य निर्माण गर्ने अभियानका रूपमा सहकारीलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए। संस्थाको सफलता सञ्चालक समिति वा कर्मचारीको मात्र नभई प्रत्येक शेयर सदस्यको सफलता भएको उनीहरूको भनाइ थियो।
उनीहरूले विगतमा भएका कामको समीक्षा गर्दै कमजोरीबाट पाठ सिकेर आगामी दिनमा सहकारीलाई अझ पारदर्शी, जवाफदेही, सदस्यकेन्द्रित र दिगो बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए।
साधारणसभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षकको प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि छलफल गरिएको थियो। त्यस्तै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणलगायत विविध विषयमा समेत छलफल भएको थियो।
सभाका अवसरमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरूलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा मनोजकुमार सिंह, धनबहादुर नेम्बाङ, विवेक घिमिरे, रमेश सुवेदी, डा. कमलप्रसाद सुवेदी, लिलानाथ उप्रेती, पूर्णबहादुर कुँमाल, फडिन्द्रकुमारी थापा र इस्राफिल मियाँ रहेका छन्।
त्यस्तै, संस्थाकी बजार प्रतिनिधि टिकामाया सुनुवारलाई उत्कृष्ट कर्मचारीका रूपमा नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
साधारणसभाले संस्थाको आगामी कार्यदिशा तय गर्दै शेयर सदस्यको हित, वित्तीय अनुशासन, पारदर्शिता र संस्थागत विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।