काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो खसेर सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकाको अत्यावश्यक वस्तु आपूर्तिको मुख्य वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथ प्रयोग हुन थालेको छ।
हेटौँडा–भिमफेदी हुँदै काठमाडौं जोड्ने त्रिभुवन राजपथबाट पछिल्लो समय दैनिक ठूलो संख्यामा मालवाहक तथा ढुवानीका सवारीसाधन काठमाडौं भित्रिरहेका छन्। खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, दाल, चामल, नुन तथा तेलजस्ता अत्यावश्यक वस्तु यही मार्ग हुँदै उपत्यकामा ल्याउनुपर्ने अवस्था बनेको छ।
नेपाल आयल निगमका अनुसार पछिल्ला तीन दिनमा मात्रै ८७ हजार ८७७ सिलिन्डर एलपी ग्यास त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिएको छ। तर, सडक साँघुरो भएकाले ठूला मालवाहक सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदा साना गाडीमार्फत सामान ढुवानी गर्नुपरेको छ। यसका कारण ढुवानी लागत र समय दुवै बढेको व्यवसायीहरूले बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यका अनुसार अहिले कृष्णभिरको विकल्पमा त्रिभुवन राजपथ नै प्रमुख मार्ग बनेको छ। तर, सडकको क्षमता सीमित भएकाले ठूलो परिमाणमा सामान ढुवानी गर्न समस्या भइरहेको छ।
त्रिभुवन राजपथ नेपालकै पुरानो तथा ऐतिहासिक राजमार्गमध्ये एक हो। सन् १९५३ मा भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको यो सडक काठमाडौंलाई हेटौँडा हुँदै वीरगञ्जसँग जोड्छ। करिब १८९ किलोमिटर लामो यो मार्गलाई नेपालको पहिलो राजमार्गसमेत मानिन्छ।
यसैबीच कृष्णभिरमा अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनका लागि वैकल्पिक ट्रयाक निर्माणको काम तीव्र पारिएको छ। सडक विभागले पहिरो गएको स्थानमाथिबाट निर्माण सामग्री र उपकरण लैजान मिल्ने गरी ट्रयाक फराकिलो बनाइरहेको जनाएको छ।
अहिले करिब चार मिटर चौडाइको ट्रयाक खोलिएको छ भने स्लोप कटिङ, भित्ता काट्ने, ग्राभेलिङ तथा ग्रेडिङलगायतका काम भइरहेको छ। निर्माणमा थप उपकरण परिचालन गरिएको र भदौ मसान्तसम्म सर्वसाधारणका सवारी सञ्चालन गर्न मिल्ने गरी ट्रयाक व्यवस्थित गर्ने लक्ष्य राखिएको सडक आयोजनाले जनाएको छ।
पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआएसम्म काठमाडौंको आपूर्ति व्यवस्थामा त्रिभुवन राजपथको भूमिका महत्वपूर्ण रहने देखिएको छ।